
शनिवार , भाद्र १९, २०७८
भैरहवा, १९ भदौ ।
पत्रकारितामार्फत सहकारी क्षेत्रको प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै पत्रकार टोपराज शर्माले उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । रुपन्देहीको तिलोत्तमा–१५ स्थित कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शर्मालाई नगद १५ हजार राशीसहित प्रमाणपत्रले पुरस्कृत गरेको हो ।
सहकारीले शनिबार भलवारीमा आयोजना गरेको कार्यविवरण हस्तान्तरण कार्यक्रममा संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालले शर्मालाई पुरस्कार प्रदान गरेकी हुन् । शर्मा अनलाइनखबर डटकमका बुटवलस्थित वरिष्ठ संवाददाताका साथै राज्य टेलिभिजनमा आवद्ध छन् ।
यस अघि पत्रकार रबिन्द्र प्रताप गुप्ता जनउत्थान पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेको छन् ।
सो अवसरमा सहकारीले उत्कृष्ट कर्मचारीमा पहुँच सेवा केन्द्र भैरहवाकी रविना राना, उत्कृष्ट सेवा केन्द्रमा पटकसार सेवा केन्द्र ठुटीपिपल तथा लकडाउनका बेला कृषि एम्बुलेन्स सञ्चालनमा योगदान गरेका समाजसेवी प्रख्यात बन्जाडे, चन्द्रबहादुर थापा र एम्बुलेन्स चालक भर्थरी गुप्तालाई सम्मान गरेको छ ।
कार्यक्रममा ऋण उपसमिति, शिक्षा उपसमिति, सम्पत्ति खरिद उपसमिति, व्यवस्थापन समिति, परामर्श कार्यदल र सिस्टर क्लबका संयोजक तथा सदस्यहरुलाई कार्यविवरण हस्तान्तरण गरिएको सहकारीका सचिव सरु रानाले बताइन् ।
२०५९ मा बागलुङ सामुदायिक संस्थाको नामबाट शुरु भएको सहकारी अहिले लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो सहकारी बनेको छ । सहकारीमा हाल १९ हजार महिला र ८ हजार पुरुष गरी २७ हजार शेयर सदस्य छन् । अन्य ६ वटा सहकारीसंग एकीकरण गरेको सहकारीका रुपन्देही जिल्लाका ८ स्थानमा सेवा केन्द्र छन् । सहकारीको २ अर्ब ५१ करोड कूल पुँजीसहित १८ करोड जगेडा कोष छ । सहकारीका ८ वटा सेवा केन्द्र र ५४ जना कर्मचारी छन् ।
सहकारीले आगामी २०८१ सालसम्म कुल पुुँजी तीन अर्ब ५१ करोड रुपैयाँ र शेयर सदस्य ३५ हजार जना र जगेडा कोष ४१ करोड ७० लाख पुर्याउने लक्ष्य लिएको व्यवस्थापक रन बहादुर थापाले बताए । सहकारीका अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षता, उपाध्यक्ष गिरी प्रसाद पुनको स्वागत तथा सचिव सरु रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij