
सामूहिक लगानीमा कृषि उद्यम सुरु गर्ने निर्णय
आइतवार , भाद्र २०, २०७८
बुटवल, २० भदौ ।
उद्योग व्यापार संघ बुटवलको वार्षिक कार्ययोजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कपिलवस्तुको वाणगंगा–३ राजापानीमा सम्पन्न दुईदिने कार्यशाला गोष्ठीले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सामूहिक लगानीमा कृषिमा आधारित उत्पादनमूलक उद्यम शुरु गर्ने लगायतका योजनाहरु पारित गरेको छ ।
त्यस्तै संघको सचिवालयका लागि जग्गा प्राप्ति र भवन निर्माणको तयारी, सदस्यता वृद्धि, आजीवन सदस्यता वितरण, महिला उद्योगी–व्यवसायीलाई सीपमूलक तालीम दिने योजना पारित गरेको छ ।
त्यस्तै औद्योगिक प्रदर्शनी तथा सांस्कृतिक महोत्सवको तयारी, संघमा आवद्ध उद्योगी व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता तथा कोरोना नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गर्ने योजना पारित भएको छ । त्यसै गरी मौद्रिक नीति, राजस्व, भन्सार, आयकर सम्बन्धी गोष्ठी र सेमिनार गरी उद्योगी व्यवसायीलाई जानकारी गराउने योजना पनि पारित भएको छ ।
त्यस्तै आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकार मध्येबाट हरेक दुई वर्षमा एक–जना पत्रकारलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै प्राकृतिक विपद्बाट पीडित तथा अतिविपन्न, अनाथ, अपांगता भएका व्यक्तिलाई राहत र सहयोग प्रदान गर्ने योजना पनि संघले पारित गरेको छ ।
कार्यशाला गोष्ठीमा प्रशिक्षणमूलक मन्तव्य राख्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश महासचिव खिमनारायण पराजुलीले देशको अर्थतन्त्रको मेरुदण्ड उद्योगी व्यवसायी नै भएको उल्लेख गर्दै संघले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
संगठनका केन्द्रीय सदस्य एवं संघका पुर्व अध्यक्ष खेम श्रीसले परनिर्भर र आयातमुखी व्यापारलाई निर्यातमुखी बनाउनेतर्फ संघको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिए । संघका निवर्तमान अध्यक्ष प्रविण बहादुर पाठकले राज्यलाई कर तिरेर योगदान दिने उद्योगी व्यवसायीका समस्या र मागप्रति सरकारी निकायले बेवास्ता गरेकाले दवाव दिनुपर्ने धारणा राखेका थिए ।
संघका अध्यक्ष गोबिन्दप्रसाद गैरेले अघिल्लो कार्यसमितिले अघि सारेका अधुरा कार्यलाई निरन्तरता दिंदै कार्याला गोष्ठीले पारित गरेका योजनाहरु पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यशालामा उद्योग उपाध्यक्ष विष्णुप्रसाद पाण्डे, वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी, महासचिव पदम जीसी, सचिव यमलाल मरासिनी, सह–कोषाध्यक्ष नम्रता थापा, गोष्ठी संयोजक जनेश पन्थीले आ–आफ्ना धारणा राख्दै उद्योगी व्यवसायीका समस्या र सुख दुखमा साथ दिंदै संघलाई साना, मझौला र ठूला सबैखाले उद्योगी ,व्यवसायीको साझा र नेतृत्वदायी संस्था बनाउनुपर्ने प्रतिवद्धता जनाएका थिए । संघमा हाल ६ सय उद्योगी व्यवसायी आवद्ध छन् । कार्यशाला गोष्ठीपछि संघले बाणगंगाा लखनपरास्थित लुम्बिनी बहुउद्देश्यीय एग्रो फार्मको अवलोकन समेत गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij