२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

अन्तरनिर्भर अर्थतन्त्र बनाउनुपर्नेमा जोड

 उद्योग व्यापार संघद्वारा नगर प्रमुखसंग जग्गा माग

शुक्रवार , भाद्र २५, २०७८

बुटवल, २५ भदौ । 
उद्योग व्यापार संघ बुटवलले बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीसंग संघको सचिवालय भवनका लागि जग्गा उपलब्ध गराउन माग गरेको छ । संघको सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा संघका अध्यक्ष गोविन्द गैरेले नगर प्रमुख सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै बुटवलका अन्य तीन व्यवसायिक संस्थालाई जस्तै आफ्नो संघलाई पनि जग्गा उपलब्ध गराउन माग गरेको हो । 

अध्यक्ष गैरेले स्थानीय सरकारलाई सहयोग गर्दै सहकार्य गरेर अघि बढ्न संघ सदैव तयार रहेको भन्दै संघलाई लिजमा भए पनि जग्गा उपलब्ध गराइदिन माग गरे । नगरप्रमुख सुवेदीले संघसंस्थालाई जग्गा उपलब्ध गराउन विगतमा जस्तो सजिलो नभए पनि आफूले सक्दो पहल गर्ने बताए । उनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरी व्यापार घाटा कम गराउनेतर्फ ध्यान दिन र अन्तरनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिए । 
संघका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले औद्योगिकरण र व्यापार विविधकरणमार्फत स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने संघको प्रमुख उद्देश्य भएको बताउँदै त्यसका लागि संघको सचिवालयलाई जग्गा उपलब्ध गराउन माग गरे । 

कार्यक्रममा संघका उद्योग उपाध्यक्ष विष्णुप्रसाद पाण्डे, वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी, महासचिव पदम जीसी, सचिव यमलाल मरासिनी, कोषाध्यक्ष अन्जु पाण्डे, सह–कोषाध्यक्ष नम्रता थापा लगायतले आफ्ना भनाइ राखेका थिए । संघले सामूहिक लगानीमा कृषिमा आधारित उत्पादनमूलक उद्यम सुरु गर्ने योजना अघि सारेको छ ।