
आइतवार , आश्विन १७, २०७८
बुटवल, १७ असोज ।
राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान दिएको निजी क्षेत्रका उद्योगी व्यवसायीले कोरोना महामारीका कारण धराशायी भएको भन्दै औद्योगिक तथा व्यवसायिक वातावरण बनाइदिन सरकारसंग आग्रह गरेका छन् । कोरोना महामारी, पूर्वाधार निर्माणमा भएको सुस्तता, व्यवसायमैत्री वातावरणको अभावका लगायतका कारण निजी क्षेत्रका उद्योग व्यवसाय बन्द गर्नुपर्ने स्थितिमा पुगेको भन्दै उनीहरुले सरकारलाई निजी क्षेत्र मैत्री नीति र सोही अनुसारको व्यवसायिक वातावरण बनाइदिन आग्रह गरेका हुन् ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको शनिबार सम्पन्न २८ औं सल्लाहकार सभामा बोल्ने उद्योगी व्यवसायीहरुले मुलुकमा व्यवसायिक वातावरण विकास हुन नसकिरहेको अवस्थामा कोरोना महामारीले आफूहरुको लागि थप जोखिममा परेको बताएका थिए । राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्नको लागि पनि मुलुकमा व्यवसायिक वातावरण अपरिहार्य रहेको उनीहरुको भनाइ थियो । उनीहरुले व्यवसायिक वातावरण बनाइदिन पनि सरकारसंग माग गरे ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मुलुकको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै आयात प्रतिस्थापनको लागि प्रतिष्पर्धी वस्तुको उत्पादनमा जोड दिनुपर्ने बताए । उनले सरकारले लिएको सीमा खुला गर्ने नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने र विस्तारै अर्थतन्त्र पूर्ण स्वचालित हुने विश्वास व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी तिवारीले मोतिपूर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले कारोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा बुटवल उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका खेलेको र संघ सरकारको महत्वपूर्ण साझेदारको रुपमा रहेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले विषयगत उद्योगी व्यवसायीका समस्या पहिचान गर्न सहज होस् भनेर वस्तुगत समिति गठन गरिएको र गठित समितिले दिएका सुझाव सल्लाह अनुसार समस्या समाधानको लागि संघले पहल पैरवी तथा व्यवसायिक विकासका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।त्यस्तै उनले कोरोना महामारी, पूर्वाधार निर्माणमा भएको सुस्तता, व्यवसायिक वातावरणको अभाव लगायतका कारणले उद्योगी व्यवसायी मारमा परेको बताए । सरकारले ४० माईक्रोन भन्दा कमको प्लाष्टिक उत्पादन, आयात निर्यात तथा विक्रीवितरणमा रोक लगाएका कारण सम्बन्धित उद्योगी समस्यामा परेको बताउँदै उनले समस्या समाधानको लागि सरकारसंग आग्रह गरे ।
त्यसअवसरमा संघको सहयोगमा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा आइसीयू कोभिड वार्ड निर्माणमा आर्थिक सहयोग गर्नेहरुलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । संघको सहयोगमा आम्दा अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू कोभिड वार्ड स्थापना गिरएको थियो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्व अध्यक्ष नवराज श्रेष्ठ, छिमेकी उद्योग वाणिज्य संघ परासीका अध्यक्ष केशव भण्डारी, संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, सचिव मुक्ति अधिकारी, वित्तीय परामर्शदाता प्रदिप कुमार श्रेष्ठ लगायतले उद्योग तथा व्यवसायिक क्षेत्रमा भएका समस्याहरु उठान गर्दै मुलुकको अर्थतन्त्र सुदृढ गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार गम्भिर हुनुपर्ने बताएका थिए ।
उद्योगीहरुको बिना मागका आधारमा ट्रक लाईन जडान गर्ने र जडान गरेको ३,४ वर्षपछि मात्रै बिल दिने जस्ता कार्यले उद्योगी व्यवसायी मारमा परेको उनीहरुको भनाइ थियो । मुलुकको अर्थतन्त्र सुदृढ गर्नको लागि जग्गा अभाव भएको औद्योगिक क्षेत्र निर्माणलाई प्राथमिकता दिएर मोतिपुर औद्योगिक क्षेत्र निर्माणको काम यथाशक्य चाडो गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले खुला सीमा नाकामा कडाई गर्नुपर्ने, कोरोना महामारीको जोखिम कायमै रहेकाले उद्योगी व्यवसायी तथा कामदार कर्मचारीलाई कोरोनाविरुद्धको खोपको प्रबन्ध मिलाउनुपर्ने, बुटवल ज्योतीनगरको पहिरो सिंगो बुटवलकै जोखिमको रुपमा खडा भएकोले दीर्घकालिन समाधान खोजिनु पर्ने, सडक पूर्वाधार चांडो सम्पन्न गर्नुपर्ने लगायतका कुरामा सरकार प्रतिवद्ध हुनुपर्ने भनाइ राखे ।
कार्यक्रम संघका महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो । कार्यक्रममा संघका सल्लाहकाहरु, पूर्वअध्यक्षहरु, संघमा गठत वस्तुगत समितिका सभापति, उपसभापति, कार्यसमितिका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो । त्यस अवसरमा वस्तुगत समितिका सभापतिहरुले वस्तुगत समितिका समस्याहरु उजागर गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij