
आइतवार , आश्विन १७, २०७८
भैरहवा, १७ असोज ।
रुपन्देही प्रहरीले करिब आठ लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देही र कार्यालयमातहत प्रहरी इकाईहरुले शुक्रबार, शनिबार र आइतबार गरी ७ लाख ९० हजार बराबरको सामान बरामद गरेका हुन् । भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरिएको सामान बरामद गरी स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलिहया पठाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।
जिप्रकाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शनिबार सिद्धार्थनगर–१ बेलहियाबाट सुतिको साडी ५५ पिस, तन्ना सेट १५ पिस, कुर्ता सुरुवाल ११० पिस, टप २२ पिस, साडी ३० पिस, बनारसी साडी ३ पिस, लेगिज २० पिस, चुन्नी २४ पिस, थान कपडा ४ पिस गरी ६ लाख बराबरको सामान बरामद गरेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय मझगावामातहत सीमा प्रहरी चौकी कदमहवाबाट खटिएको टोलीले शुक्रबार कोटहीमाई–४ बरदहवाबाट १ लाख ८० हजार मूल्यको दुईवटा भैसी र एउटा पाडा गरी नियन्त्रणमा लिएको छ । बरामद गरिएको भैसी र पाडा आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन बेलहियामा चेकजाँच गराइ भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
त्यसै गरी प्रहरी चौकी हाटीबनगाईबाट खटिएको टोलीले मायादेवी गाउँपालिका– ६ भन्सार चोकबाट २०० के.जी. चिनी र ५ के.जी. सुर्ती गरी १० हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय पठाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij