
मंगलवार , आश्विन १९, २०७८
भैरहवा, १९ असोज ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही अन्तर्गत महिला उद्यमी विकास उपसमितिको संयोजनमा महिला उद्यमीहरुलाई लक्षित गरी एकदिने बैंकिङ्गसम्बन्धी तालिम मंगलबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा समितिका संयोजक तथा संघका कार्यसमिति सदस्य पल्लवी न्यौपानेले महिला उद्यमीहरुलाई बैंकसम्म सहज पहुँच पुर्याउने उद्देश्यले संघले तालिमको आयोजना गरेको बताइन् ।
तालिममा नेपाल राष्ट्र बैंकमार्फत जारी गरिएको महिला उद्यमी लक्षित कर्जा लिन कसरी आवेदन दिने र कुन कुन प्रक्रिया तथा कागजपत्र आवश्यक पर्नेबारे जानकारी गराइएको संघका कार्यकारी सचिव आनन्द खनालले बताए ।
संघका महासचिव विजय पाण्डेको सञ्चालनमा सम्पन्न उक्त तालिममा भैरहवा बैंकर्स क्लबका अध्यक्ष खिम बहादुर कार्की, सचिव अमृत थापा, कोषाध्यक्ष प्रेमसागर अग्रहरी, कृषि विकास बैंक प्रदेश कार्यालयकी वरिष्ठ शाखा प्रमुख सिमा बनले आ–आफ्नो अनुभव र बैंकिङ्ग प्रणाली, कर्जा प्राणालीबारे बोलेका थिए । तालिममा ऋचा के.सी. तथा कृष्ण प्रसाद बस्यालले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले उद्देश्य अनुसार लिएको कर्जाको सदुपयोग गरी व्यवसायिक दक्षता हासिल गर्दै अगाडी बढ्नुपर्ने बताए । उनले बिना झन्झट सहज रुपमा कर्जा प्रवाह गर्ने गरी सरोकारवालाहरु लाग्नुपर्ने र महिला उद्यमीहरुको विकासमा सहयोग पुर्याउनुपर्ने बताए । तालिममा ४० जना उद्यमीहरुको सहभागिता रहेको संघले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij