२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

नमुनाद्वारा बाढीप्रभावित घरपरिवारलाई राहत वितरण

शुक्रवार , आश्विन २२, २०७८

भैरहवा, २२ असोज ।

नमुना एकीकृत विकास परिषद् रुपन्देही (नमुना)ले बाढीप्रभावित अतिविपन्न, एकल महिला, ज्येष्ठ नागरिक, सुत्केरी तथा फरक क्षमता भएका परिवारलाई राहत वितरण गरेको छ । नमुनाले रुपन्देहीको रोहिणी, ओमसतिया र कोटहीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका ७६ तथा पश्चिम नवलपरासीको सरावल र प्रतापपुर गाउँपालिकाका ५२ गरी १२८ घरपरिवारलाई  राहत वितरण गरेको संस्थाका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् । नमुनाको आयोजना, जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देही, नेपाल रेड्क्रस सोसाइटी धकधई, पडसरी र मर्चवार उपशाखा, रोहिणी, ओमसतिया र कोटहीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको समन्वय तथा टेवा नेपाल, डब्लुएचडीआर आरपी, आईजीएफएफ र डब्लुएफडीएमको साझेदारीमा राहत सामाग्री वितरण गरिएको पौड्यालले जानकारी दिइन् ।

प्रतिपरिवार चामल १ बोरा (२५ केजी), दाल २५ केजी, चिउरा २ केजी, तेल ३ लिटर, नुन २ केजी, चना २ केजी, सोयाबीन १ केजी गरी ४ लाख ४८ हजारको सामग्री वितरण गरिएको नमुनाले जनाएको छ ।
नमुनाका अध्यक्ष ज्ञानु पौड्याल, टिम लिडर दिनेश पौड्याल, कार्यक्रम संयोजक अमृता अधिकारी, कार्यक्रम अधिकृत राजेश जि.सी. को सहभागितामा रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका मन्त्री आर मोहम्मद खान, सभापति लगायतको उपस्थितिमा रोहिणी गाउँपालिकामा राहत सामग्री वितरण गरिएको थियो । ओमसतिया गाउँपालिकामा भएको राहत वितरण कार्यक्रममा रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका कार्यसमिति सदस्य रामचन्द्र उपाध्याय, पडसरी उपशाखाका सभापति बाबुराम पौडेल लगायतले बोल्दै राहत सामाग्रीले महिला र बालबालिकालाई धेरै सहयोग पुग्ने बताए ।

त्यस्तै सरावल गाउँपालिकाका प्रमुख राधेश्याम चौधरीले सरावलका बाढीप्रभावितलाई राहत मिलेको बताए । उनले नमुनाको कार्यको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य गर्न र थप कार्यक्रममा साझेदारी गर्ने बताए 
नमुना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौड्यालले संस्थाले रुपन्देही र पश्चिम नवलपरासीमा विपद व्यवस्थापनसम्बन्धि धेरै काम गरेको बताइन् । उनले बाढीले प्रभावित समुदायलाई समस्या पर्दा सानो भए पनि राहत सहयोग गरेको र आगामी दिनमा पनि विपद व्यवस्थापनसम्बन्धि कार्यक्रमहरु ल्याउने बताइन् ।