२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा भएको विलम्वप्रति चासो

शनिवार , आश्विन २३, २०७८


बुटवल, २३ असोज ।
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा भएको विलम्वप्रति यस क्षेत्रका व्यवसायिक संघ–संस्थाहरुले चासो र चिन्ता व्यक्त गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको मोतिपुर औद्योगिक क्षेत्र सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका व्यवसायिक संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले औद्योगिक क्षेत्र निर्माणमा भएको अवरोध र त्यसले आर्थिक क्षेत्रमा पार्ने प्रभावको बारेमा चिन्ता व्यक्त गरेका हुन् ।संघको तर्फबाट मोतिपुर औद्योगिक क्षेत्रका संयोजक नवराज श्रेष्ठले भने–‘०६६ सालतिर यसले गति लिन सुरु गरेको हो ।’ उनका अनुसार त्यतिबेला २३८ विगाहा जग्गामा औद्योगिक क्षेत्र निर्माणको लागि पहल भएको थियो ।

त्यसमा डीपीआर समेत तयार भइसकेको थियो । पछि ७ वटै प्रदेशमा १ हजार विगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारी अवधारणासहित मोतिपूर औद्योगिक क्षेत्रको काम अगाडि बढ्यो । सोही अनुसार गत चैत २१ गते तत्कालिन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अवरोधकाबीच उक्त औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । यद्यपी काम भने अगाडि बढ्न सकेको छै । कारण हो, स्थानीयको अवरोध ।
स्थानीयको अवरोध र जग्गा अतिक्रमण हुन थालेपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा अहिले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाकाबीच पनि स्थानीयले बलजफ्ती गरेपछि प्रहरीसंग झडप समेत भएको थियो ।
बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख तथा मोतिपुर औद्योगिक क्षेत्र परियोजनाका प्रमुख निमेश अधिकारीका अनुसार अहिले स्थानीय उनीहरुले टहरा हाल्ने र आफूहरुको तर्फबाट टहरा भत्काउने काम मात्रै भएको छ । उनले भने,‘उनीहरु आउने बस्ने र प्रहरीले हटाउने काम भइरहेको छ ।’ मोतिपुर औद्योगिक क्षेत्र निर्माणको लागि कुटनीतिक रुपमा राजनीतिक लविङ् आवश्यक देखिएको उनले बताए ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले मोतिपूर औद्योगिक क्षेत्र निर्माण भएपछि यस क्षेत्रमा एक प्रकारको औद्योगिक वातावरण बन्ने आशा र विश्वास गरिएको भएपति त्यसमा भएको अवरोध तथा त्यही कारण भएको विलम्बले आफूहरुलाई चिन्तित बनाएको बताए । सरकारको तर्फबाट पहिले त्यहाँ देखिएको समस्यालाई व्यवस्थापन गरेमा मात्रै काम अगाडि बढाउनुपर्ने उनको धारणा छ ।
त्यस्तै रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले ठूलो औद्योगिक क्षेत्र बनाउने परिकल्पना अफ्ठ्यारो स्थितिमा पुगेको बताउँदै पहिले त्यहाँ देखिएका समस्यालाई सम्बोधन गरेर मात्रै काम अगाडि बढाउन उपयुक्त हुने भनाइ राखे । त्यसै गरी रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले पहिले सुकुम्बासीका समस्या समाधान गरेर मात्रै औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाइयो भने त्यसले सार्थकता पाउने बताए । उनले यो राजनीतिक मुद्धा समेत भएकाले निकास पनि राजनीतिक रुपबाटै खोज्नुपर्ने बताए ।उद्योग व्यापार संघका अध्यक्ष गोविन्द गैरे, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका उपाध्यक्ष उपेन्द्र अग्रवाल लगायतले त्यहाँको यकिन तथ्यांकसहित प्रस्ताव तयार गरेर समाधानको खोजी गर्न सकिने भनाइ राखेका थिए ।

बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले सहभागिलाई धन्यवाद ज्ञापन गर्दै औद्योगिक क्षेत्र निर्माणमा भएको अवरोधले उद्योगी व्यवसायीलाई चासो र चिन्ता भएको बताए । कार्यक्रममा यस क्षेत्रका व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरु, बुटवल उद्योग वाणिज्य संघका सल्लाहकारहरु, पूर्व अध्यक्षहरु, पदाधिकारीहरु तथा सदस्यहरुको सहभागिता रहेको थियो ।