२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

लुम्बिनी सरकार कृषिमैत्री बन्दै गएको छ : कृषिमन्त्री रायमाझी 

 हेफर इन्टरनेश्नललाई सम्मान 

शनिवार , आश्विन २३, २०७८

बुटवल, २३ असोज । लुम्बिनी प्रदेश सरकारका कृषि, खाद्य तथा भूमिव्यवस्था मन्त्री सुमन शर्मा रायमाझीेले प्रदेश सरकार कृषिमैत्री बन्दै गएको दावी गरेकी छन् । आफू बिनाविभागिय मन्त्री हुदाँ प्रदेशका विभिन्न जिल्लामा कृषकहरुसँग अन्तरक्रिया गरेको बताउँदै अब कृषि मन्त्रीको रुपमा किसानका समस्या हल गर्ने बताइन् ।  रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सरकारले कृषिमैत्री बजेटको व्यवस्था गरेको बताउँदै हेफर लगायतका संघ–संस्थाहरुसंग सहकार्य गर्दै कृषि क्षेत्रको व्यवसायिकतामा जोड दिने बताइन् । 

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्रीले प्रदेशमा ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको बताउँदै कृषिबाट आत्मनिर्भर बन्नको लागि प्रदेश सरकारले कृषिमैत्री बजेट ल्याएको दावी गरिन् । कोरोना संक्रमण पछि विदेशमा भएका युवा स्वदेशमा नै कृषि क्षेत्रमा लगानी गर्न चाहेको उनले बताउँदै सरकारले कृषिमा लगानी गर्ने युवालाई सहयोग गर्नुपर्ने जोड दिइन् । 

हेफर ईन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डाक्टर महेन्द्र लोहनीले दुग्ध तथा मासुजन्य उत्पादनको लागि हेफरले कृषकहरुलाई नेपालमा सहयोग गर्दै आएको जानकारी दिए । साक्षात्कार कार्यक्रममा बोल्दै उनले सिमान्तकृत जनताको आयआर्जन वृद्धि गर्दै अमेरिकी सरकारको सहयोगमा २१ वटा मुलुकमा हेफरले सहयोग गर्दै आएको बताए । किसानको आयआर्जन वृद्धि गर्नको लागि नेपालमा मासु र दुग्धजन्य उत्पादनमा जोड दिदै तरकारी, फलफूल उत्पादनमा पनि हेफरले लगानी गर्दै आएको बताए । 

बुटवलमा बन्दै गरेको बधशाला निर्माणको लागि २३ करोड सहयोग गरेको लोहनीले बताए । प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै लुम्बिनी प्रदेशमा गरिबी निवारणको लागि हेफरले काम गर्ने उनले बताए । त्यस्तै उनले सवै गैरसरकारी संस्थाहरुलाई एउटै दृष्टिकोणले नहेर्न आग्रह गर्दै संस्थाहरुले गरेका कामका आधारमा मुल्यांकन गर्न समेत आग्रह गरे ।

हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. तिर्थराज रेग्मीले नेपालमा ३ लाख परिवार हेफरबाट लाभावान्दित भएको दावी गरे । हेफरले गरिब तथा निम्न आय भएका मानिसहरुको आयवृद्धिको लागि कृषि क्षेत्रमा प्रोत्साहन गर्दै आएको बताए । रेग्मीले हेफरले आफ्ना कार्यक्रमहरुलाई निरन्तर सुधार र परिमार्जन गर्दै आएको बताए । 

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले सरकारबाट आउने कृषिका अनुदान वास्तविक किसानसम्म पुग्न नसकेको गुनासो पोखे । सरकारबाट आउने अनुदान फर्जी कागज देखाएर नक्कली किसानले पाउने गरेको उनले बताउँदै यसलाई रोक्नको लागि सरकारी निकाय सचेत हुनुपर्नेमा जोड दिए । त्यस्तै क्लबले हेफर इन्टरनेशनल नेपालले लुम्बिनी प्रदेशमा कृषि क्षेत्रमा महत्वपूर्ण योगदानको प्रशंसा गर्दै सम्मान–पत्रले सम्मानित गरेको छ । रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता तथा तेजेन्द्र केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।