
आइतवार , आश्विन २४, २०७८
भैरहवा, २४ असोज ।
उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श)को १४ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । गत असोज ९ गते सम्पन्न संगठनको अधिवेशनले अनिल कुमार ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो । ज्ञवालीले यस अघि संगठनको महासचिवको जिम्मेवारी सम्हालेका थिए ।
अधिवेशनबाट संगठनको वरिष्ठ उपाध्यक्षमा दर्पण श्रेष्ठ, उपाध्यक्ष (उद्योग) मा रामचन्द्र रेग्मी, उपाध्यक्ष (वाणिज्य) मा कृष्ण बहादुर गुरुङ, महासचिवमा सचिन रोक्का, कोषाध्यक्षमा राम मिलन यादव, सचिवमा टिकाराम भट्टराई र सह–कोषाध्यक्षमा मधुसुदन अर्याल निर्वाचित भएका थिए । त्यस्तै संगठनको एशोसियट सदस्यमा सुरेन्द्र त्रिपाठी, सदस्य (उद्योग) मा प्रभु प्रसाद यादव, सुरेन्द्र कुमार पाण्डे र लक्ष्मण भण्डारी निर्वाचित भएका थिए ।
त्यसै गरी सदस्य (वाणिज्य) मा राम प्रसाद सापकोटा, विष्णु प्रसाद उपाध्याय, भोला बहादुर क्षेत्री, गौतम कुमार गुप्ता, धिरज कुमार मल्लिक, प्रकाश प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद पाण्डे र मिनिता थापा रहेका छन् । त्यस्तै सदस्य (महिला)मा विन्दु न्यौपाने र माया शर्मा खनाल निर्वाचित भएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यस क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले राज्यले निजी क्षेत्रसंग सहकार्य गर्दै अगाडी बढेको बताए । प्रजिअ तिवारीले यस क्षेत्रको समग्र विकासका लागि हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताए । उनले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।
संगठनका नवनिर्वाचित अध्यक्ष अनिल कुमार ज्ञवालीले संगठनलाई अगाडी बढाउन लागिपर्ने बताए । उनले १४ वर्षको अवधिमा आफूले विभिन्न पद सम्हाल्दै हाल अध्यक्षको जिम्मेवारी सम्हालेको बताए । उनले आफ्नो कार्यकालमा विभिन्न क्षेत्रमा संगठनको सदस्यता विस्तार तथा कार्यालय स्थापना गर्ने बताए । संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे । उनले विभिन्न उतारचढावकाबीच संगठन यहाँसम्म आइपुगेको बताए ।
कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेल, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्य, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, उद्योग व्यापार संगठन रुपन्देहीका सल्लाहकार हितराज पन्थी लगायतले बोल्दै संगठनले आगामी दिनमा पनि उद्योगी व्यवसायीको हकहितसंगै रचनात्मक कार्यहरु गर्दै जानुपर्ने बताए । कार्यक्रममा संगठनका अध्यक्ष अनिल कुमार ज्ञवाली तथा कार्यसमितिको बैठकबाट मनोनित गरिएको सदस्यहरुलाई सपथग्रहण गराइएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij