२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

रुपन्देहीमा ६ महिनामा ६ करोड बराबरको अवैध सामान बरामद

बिहिवार , कार्तिक ४, २०७८

भैरहवा, ४ कात्तिक ।
रुपन्देही प्रहरीले ६ महिना ४ दिनको अवधिमा करिब ६ करोड मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले आर्थिक वर्ष २०७८/७९ अन्तर्गत वैशाख १ गतेदेखि कात्तिक ४ गतेसम्म ५ करोड ९६ लाख ८ हजार ४ सय ३७ रुपैयाँ बराबरको चोरी तस्करीको सामान बरामद गरेको हो । भारतबाट भन्सार छलेर अवैध रुपमा नेपाल ल्याइएको सामान विभिन्न स्थानबाट बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए । 

२०७८ सालको वैशाख महिनामा १ करोड ४ लाख ३ हजार ४ सय १२, जेठमा १२ लाख ७३ हजार ८ सय ८०, असारमा १ करोड ५ लाख २९ हजार ६ सय ९६, साउनमा १ करोड २४ लाख ९६ हजार ८ सय ९०, भदौमा ८५ लाख ४ हजार २ सय ८९ र असोजमा १ करोड ४४ लाख २ हजार १ सय १० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको चन्दले जानकारी दिए ।

कात्तिक ३ र ४ गते (बुधबार र बिहीबार) मात्रै १९ लाख ९८ हजार १ सय ६० रुपैयाँको अवैध सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ । 

बुधबार कपडा, बेल्ट, मसला, पापड, जुत्ता, चिनी, सानो पटका, टप्स गरी ३ लाख १५ हजार १ सय ६० र बिहीबार मोबाइल डिस्प्ले, कपडा, स्मोकिङ पेपर गरी १६ लाख २० हजार बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै लु १२ प ४०५७ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।

तस्करी नियन्त्रणलाई अभियानका रुपमा सञ्चालन गरी ठूलो परिमाणमा अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार के.सी.ले बताए । ‘चाडपर्वको समयमा कात्तिक ३ र ४ गते मात्रै ठूलो परिमाणमा अवैध सामान बरामद गरिएको छ,’ उनले भने । भारतबाट ल्याएको चोरी तस्करीका सामान नारायणगढसम्म पनि लैजाने गरेको पाइएको उनले बताए । खास गरी रेडिमेड कपडा, मेशिनरी, हार्डवेयरका सामान, ड्राइ फ्रुट्स लगायतका सामान अवैध रुपमा भित्र्याइएको र उक्त सामान नियन्त्रणमा लिइ भैरहवा भन्सार कार्यालय पठाइएको एसपी के.सी.ले बताए ।