images

शनिवार, बैशाख ८ गते २०८१

तुर्क प्रसादको भाषण

तुर्क प्रसादको भाषण

images
images
images
शुक्रवार, कार्तिक ५ २०७८
शुक्रवार, कार्तिक ५ २०७८
  • तुर्क प्रसादको भाषण

    कहिलेकाँही मानिसहरुलाई ठूलो भ्रम हुन्छ ।, सबैलाई सधैँ यस्तो भ्रम हुदैन, केही मानिसहरु यस्तो भ्रमका शिकार हुन्छन् । यस्ता भ्रमका शिकार भएका केही साहित्यकारहरुको चर्चा यस व्यंग्यले उठान गर्ने छ ; अरु त सबै पाठक वर्ग कै हातमा ....।

    images
    images
    images

    एउटा साहित्यक कार्यक्रममा मलाई निम्ता आयो, निम्ता पत्रमा स्थान, समय र मिति उल्लेख थियो । म पनि दंग परें । आफूलाई मैले निकै ठूलो लेखक, कवि, व्यंग्यकार, उपन्यासकार, समालोचक र राजनीतिज्ञ पनि ठानेको थिएँ । म जस्तो ठूलो साहित्यकारलाई नबोलाएर कस्लाई बोलाउँछन् त ? ठीकै गरे । मेरो उपस्थितिले मात्र साहित्य सम्मेलनको गरिमा बढ्ने भयो । 

    निम्ता हातमा पर्ने बित्तकै मैले गृहिणीलाई भने, “हेर ! है आज साहित्यिक कार्यक्रममा जानु छ, लुगाहरु आइरन गरेर ठीक पारिदेउ ।”

    “हिजो लगाएको लुगा छ त” उनको जवाफ ।

    “हैन, अर्को राम्रो ठीक पार न”

    “कत्ति न के के मा जाने जस्तो ? त्यही साहित्यिक कार्यक्रममा त होला नी !! जन्ती जाने जस्ता कुरा... पहिले पहिले त जस्तो पनि लगाएर जानु हुन्थ्यो त ?”

    “कुरा बुझ्न आजको कार्यक्रममा मन्त्री आउने रे, त्यसैले भनेको !” 

    “मन्त्री ? मन्त्री आएर के हुन्छ ? हुने केही होइन सभाको इज्जत बढ्छ ।”

    “बढ्यो इज्जत ? हुर्र गाडिमा आउँछ र चाकडीवाज तिमी जस्ता फूल लिएर अगाडि पुग्छौ, ति दश पास मन्त्रीलाई किन बोलाउनु पर्यो ? साहित्यको मर्म तिनलाई थाहा छ ? 

    “खै थाहा छ छैन, कार्यक्रममा नै थाहा होला । तर मेरो त्यत्ति काम गरिदेउ”। 

    “ल ल ! त्यही कालो पाइन्ट र सेतो सर्ट त लगाउने होला नी ” । 

    मैले नम्र भएर जवाफ दिए , “हो”। मैले थपे “बुझ्यौ ? मन्त्री आउने भएपछि टि.भी पनि खिच्दछन्, त्यहाँ बोलेको पनि आउँछ, समाचार लेखिन्छ, विभिन्न पत्र पत्रिकामा आउँछ, त्यसैले राम्रो सफा लुगा लगाएर जानु पर्छ ।”

    “कति किच किच गरेको कुरा बुझें नि ल बरु ठिक समयमा नै पुग्नु ! कति बजेको निम्ता छ ?” “दिउँसोको ठीक ‘एक बजे’ होटल ‘स्यान्टीफल्याट’ को हलमा”–मेरो उत्तर । 

    साहित्यिक कार्यक्रममा मन्त्री आउने भनेपछि मन प्रफुल्ल भयो । कहिल्यै नआउने पत्रकारहरु, फोटोग्राफरहरु र महत्वपूर्ण व्यक्तिको उपस्थितिबीच कविता सुनाउन पाउनु चानचुने कुरा भएन । समयले नेटो काट्दै गयो । लुगा लगाउन थाले । ठीक परे र हिंडे साहित्यिक कार्यक्रममा ....!!! 

    एक बज्न तीन मिनेट हुँदा म होटल ‘स्यान्टीफल्याट’ हलमा पुगिसकेको थिए, केही युवाहरु तुल मिलाउन, कुर्सी मिलाउन व्यस्त देखिए । म हलबाट बाहिर होटलको चौरमा निस्किए । मासिहरु फ्यट्ट फुट्ट आउदै थिए । घडीले साडे एक बजायो । 

    एक जना व्यक्ति आएर भन्न थाले, “लु लु भित्र जाउँ अब कार्यक्रम शुरु गर्नु पर्छ ।”

    बाहिर भएका दश पन्ध्र जना हल भित्र गएर बस्यौँ, धेरै मानिसहरु पछाडि गएर बसें । 

    सोचें, “म त ठूलो, साहित्यकार पो त किन पछाडि बस्ने ?” भनेर स्टेज आगाडि राखिएको सोफामा आनन्दले बसें । दुई बज्यो, मानिसहरुले हल भरियो । अगडिको सोफामा पनि भरियो । 

    त्यत्तिकैमा मन्त्रीको आगमन भयो, सबै साहित्यकारहरु उठे, अभिवादन गरे केहिले फूल चढाए केही चुपचाप उभिरहे, मन्त्री बसेपछि सबै जना बसे । म पनि बसें । 

    स्टेजमा उद्घोषक देखा परे । स्टेजमा दश जना अटाउने एकल सोफाहरु मिलाएर राखिएका थिए । उद्घोषकले सभाका सभापतिलाई आसन ग्रहण गराएपछि प्रमुख अतिथि मन्त्रीको आसन ग्रहण पूर्व माइक बाट वाचन गरे “हाम्रा अत्यन्त प्रिय जनताका दुख दर्द देख्ने, सबैलाई माया गर्ने, अग्रगामी, राष्ट्रवादी, सत्यवादी मन्त्री माननीय श्री तुर्क प्रसादलाई प्रमुख अतिथिको आसन ग्रहण का लागि हार्दिक हार्दिक अनुरोध गर्दछु ।”
    त्यसपछि क्रमश आसन ग्रहणको कार्यक्रम शुरु हुन्छ । मन्त्री आएपछि सि.डि.ओ., एस.पी र प्रमुख प्रशासकहरु आउने नै भए । सबै शासकहरु स्टेजमा आसन ग्रहण गराएपछि अगाडिको पुरै लाइन खाली थियो वस त्यहाँ एउटा ‘म’ मात्र थिए । कवि, साहित्यकार, लेखक सबै अग्र भागमा भन्दा पछाडि थिए । 

    उद्घोषक भन्दै थिए , “यो भव्य समारोहमा हाम्रो भाग्यले गर्दा जिल्ला भरिका गन्यमान्य व्यक्तिहरुको उपस्थितिले सबै साहित्यकार गौरान्वित भएका छौ नै त्यसमाथि यो साहित्यक संस्थालाई माया गर्ने मन्त्रीज्यू ्रति विशेष आभार प्रकट गर्दछौ ।”

    घडीको सुइले साडे दुई बजायो । मन्त्रीले उद्घोषकलाई चिट दिए । फेरि उद्घोषक भन्छन्, “मन्त्रीज्यू अर्को कार्यक्रममा जानपर्ने भएकाले वहाँलाई आफ्नो मन्तव्य प्रकट गरिदनुहुन आग्रह गर्दछु ।”  

    विस्तारै उठ्छन्, माइकमा आउँछन्, दुई पल्ट माइकलाई फूक मार्छन् र भन्छन्, “मलाई अत्यन्त जरुरी मिटिङमा जानु छ , त्यसैले यहाँहरुसँग क्षमा माग्दै दुई शब्द राख्दछु, “सभाध्यक्षज्यू, सम्पूर्ण उपस्थित साहित्यकार मित्रहरु आज यहाँहरुलाई अग्रगमनको वास्तविकता भन्छु......(करिब आधा घण्टा भाषणपछि ) अब म यहाँहरुको यो अग्रगामी साहित्यको कार्यक्रमलाई बधाई दिदै के भन्न चाहन्छु भने साहित्य भनेको साहित्य हो, साहित्यले नै साहित्यलाई ठूलो पार्छ, साहित्यमा हिड्न, रमाउन खेल्न जति मजा छ अरुमा छैन्, यसैले साहित्यकारहरुले जहिले पनि अरुको भलो गरेका छन् । आफु भोकै बसेर साहित्य दिएका छन् , हामी धेरै खाएर साहित्यमा रमाउन सकेका छैनौ, यो हाम्रो दुर्भाग्य हो । केही साहित्यकारहरु जस्ले हाम्रो संगत गरेका छन् उनीहरु अघाएको पनि हुन सक्छन् किनकि बेला बेलामा हाम्रो नजर त्यता पनि पर्छ, यसैले तपाईहरुले पनि अग्रगामी नजर पर्ने काम गर्नु होला–पुरस्कारले तपाईहरुलाई पर्खिरहेको छ । 

    साहित्य लेखेर मात्र हुँदैन लेख्न भन्दा पनि देख्ने काम गर्नु पर्दछ, रेडियो पत्रपत्रिका, पुस्तकहरुमा छाउनु होस्, भलै त्यो साहित्य नभएर ‘नारा’ ‘जुलुस’ वा जस्तोसुकै होस तर छाउनुहोस् । तपाई छाउन सक्नु भएन भने हुनेवाला केही छैन, जहाँ साहित्यिक जमघट हुन्छ, त्यहाँ पुगिहाल्नुहोस् । अझ हाम्रो उपस्थिति भएको ठाउँमा त चारखुट्टा टेकेर भए पनि पुग्नुहोस् । त्यही चारखुट्टा टेक्नेहरु त ऐले एकेडेमीमा त छन् नि ! यत्ति हेक्का त तपाईहरुलाई हुनैपर्ने ? 

    एउटा मूल मन्त्र म तपाईहरुलाई भन्छु सत्ताधारी दलको झण्डा मुनि अवश्य बस्नु होला ! तपाईहरु साहित्यकार हो सत्ता जसको भए पनि त्यही छाता फेरि फेरि ओढ्नु होला । धन्यवाद !

    मन्त्रीले सबैलाई अभिवादन गरे र खुरुखुरुबाहिर निस्किए उनीसँगै आएका सुरक्षाकर्मीहरु पनि साथै निस्किए, उनीसँगै आएका सुरक्षाकर्मीहरु पनि साथै निस्किए ! साहित्यिक कार्यक्रममा सभापति पनि हस्याङ फस्याङ गर्दै मन्त्रीको गाडी छेउमा पुगेर अभिवादन गरे । म छक्क परिरहें । मन्त्रीले उनको कानमा मन्त्र फुके र गाडिभित्र लुके । सभापति आएर फेरि आफ्नै आसनमा थेच्चीरहे । 

    घडीको काँटाले चार बजाया मन्त्रीसँगै आएका पत्रकार, टि.भी फोटोग्राफरहरु मन्त्री प्रस्थान पछि बाहिरिए । अब हलमा आधा मानिसहरु मात्र थिए । समयले नेटो काटिसकेको थियो । ढिलो आउनेहरुलाई उद्घोषक आसन ग्रहण गराउँदै थिए । उनले स्टेजबाट उद्घोष गरे, “ अब आफ्ने कविता लिएर, च्याण्टे कवि आउँदै हुनुहुन्छ, उहाँलाई आफ्नो कविता वाचन गर्न अनुरोध गर्दछु ।

    च्याण्टे कविले पाँच मिनेट त सम्बोधन गरे । आफु कस्तो कवि हो भनेर पनि व्याख्या गरे र आफ्नो कविता वाचन गरे शीर्षक थियो “विकासप्रेमी हाम्रा मन्त्री” कविता लामै थियो । 

    उद्घोषकले उद्घोष गरे “अब नारी श्रष्टा प्याजकुमारीलाई आफ्नो कविता वाचन गर्न अनुरोध गर्दछु ।”

    बडो गजब चालले प्याज कुमारीजी स्टेजमा आइन् । सम्बोधनपछि सबैभन्दा पहिले हात उठाइ उठाइ आफ्नो रोना रोइन् । नारीहरुलाई परेका परिमर्का, दबाइएका नारीहरु, उनीहरुको जीवनबारे व्याख्या पश्चात आफ्नो कविता सुनाइन्, शिर्षक थियो ‘नारी नारी नै हो’ यो कविता वाचन गर्दा, उनका आँखाहरु राता, राता भए हातको भंगिमाको कुरो नगरौ, आवेश र उत्तेजना र विद्रोह रुपी राको छोडदै कविता वाचन गरिन् । 
    समयले कसैलाई पर्खदैन्, साँझ पाँच बज्यो । उद्घोषक भन्छन्, “अब समय कम भएको हुनाले मन्चमा आसिन ३ जना कविहरुको मात्र कविता वाचन हुनेछ ।”

    मन्चासिन तीनै जना कविले पालैपालो समय छैन छोटो भन्छु भन्दै लामै राग अलापे । म स्थिर भएर अगाडी सोफामा एक्लै बसेको छु । 

    “हामी कार्यक्रमको अन्तिममा छौ, अब मन्तव्यसहित सभापतिले सभा समाप्त गर्नु हुने छ । म उद्घोषक एउटा कविता सुनाएर विदा हुन्छु भन्दै एउटा कविता सुनाए । 

    सभापतिको आसनबाट चारैतिर हेर्दै सबैलाई सम्बोधन गर्दै सभापति, “यो विशाल कवि सम्मेलनमा भाग लिन पाउँदा म धन्य भएको छु । त्यसमा पनि मन्त्री तुर्क प्रसादजीको आगमनले यो गोष्ठी पूर्ण रुपमा सफल भएको छ” भन्दै उनले उनले करिब आधा घण्टा आफ्नो विचार सम्प्रेषण गरेर कवि गोष्ठी समापनको उद्घोष गरे । 

    अन्तिमसम्म बस्ने मुस्किलले बाह्र जना थियौ । म लुरु लुरु घर आएँ । घर भित्र पस्न नपाउँदै श्रीमतीले भनिहालिन्, “भव्य कार्यक्रम भए जस्तो छ। , निकै ढिलो भयो नी”

    मैले “अँ” भने ।

    “कविता सुनाइयो त ?” 

    उत्तर दिए ‘अँ’

    “लौ बधाई छ, टि.भीमा हेर्न पाइने भो”उत्साहित हुँदै भनिन् । 

    कोठामा आएँ । सेतो सर्ट खोले । खल्तिमा राखेकोे कविताको कागज निकाले पुरै भिजेको थियो, पसिनाले हो वा आँसुले यसै भन्न सकिन । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij