
मंगलवार , कार्तिक १६, २०७८
भैरहवा, १६ कात्तिक ।
लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खानले मर्चवारमा प्राविधिक शिक्षालय स्थापना गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले यस क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै एउटा प्राविधिक शिक्षालय स्थापना गरिने बताए ।
नेपाली कांग्रेस मर्चवारी गाउँपालिकाले सोमबार मर्चवारी–५ मा आयोजना गरेको मन्त्री खाँको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सल्लाह, सुझाव अनुसार अगाडी बढ्ने बताए । मन्त्री खाँले धार्मिक पर्यटकीय स्थल मर्चवारीदेवी मन्दिरको गुरुयोजना बनाएर यसको विकासका लागि काम अगाडी बढाइने बताए ।
‘मर्चवारमा रहेको मर्चवारीदेवी मन्दिर धार्मिक आस्थाको केन्द्र हो, यसको विकासका लागि लागिपर्नेछु, ’उनले भने । मर्चवारको मुख्य केन्द्र मझगावालाई शहरको रुपमा विकास गर्न समेत आफू लागिपरेको र तत्काल यसका लागि ५० लाख बजेट छुट्टाइएको उनले बताए । मर्चवार क्षेत्रको विकासको लागि ८०/९० करोड बजेट छुट्टाइएका उनको भनाइ थियो । किसानहरुको सिँचाई माध्यमको अभिभावको भूमिका खेलेको मर्चवार लिफ्ट सिँचाई आयोजनाको नहर मर्मत सम्भारको लागि करिब २ करोड बजेट बिनियोजन गरेको उनले बताए । ‘मन्त्री बन्नु मात्र ठूलो कुरा होइन, मन्त्री बनेर असल काम गर्नु ठूलो कुरा हो, चुनाव जिताउनुभयो, सरकारमा थिएनौ, तर अहिले सरकारमा गएका छौं, ’उनले भने ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका युवा नेता आशुतोष मिश्राले मर्चवारबाट कांग्रेसबाट निर्वाचित पहिलो मन्त्रीको रुपमा वसिउद्दीन खान हुनुभएको बताए । उनले धार्मिक पर्यटकीय स्थल मर्चवारीदेवी मन्दिरको विकासका लागि अगाडी बढ्नुपर्नेमा जोड दिए । नेता मिश्राले सबैलाई सम्मान गर्दै अगाडी नबढे आगामी दिनमा जनताले पनि त्यही अनुसार मुल्यांकन गर्ने बताए । शिक्षाको क्षेत्रमा प्रभावकारी ढंगले काम गर्न उनले आग्रह गरे । कृषि सम्बन्धि पढाई शुभारम्भ गर्न सके कृषिको विकासमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सदस्य विनोद श्रीवास्तव, राजकुमार सिंह, युवा नेता गुरुवचन यादव, नेपाली कांग्रेस कोटहीमाईका सभापति अवधराम यादव, कांग्रेस सम्मरीमाई गाउँपालिका सभापति रमेश यादव, युवा नेता कृष्ण कुमार सिंह, सम्मरीमाई–७ का सभापति अब्दुल सपुत, चन्द्रभान यादव, जनार्दन यादव, जगन्नाथ प्रसाद कुर्मी लगायतले मन्त्री खाँको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उनीहरुले यस क्षेत्रको विकासमा मन्त्री खाँको महत्वपूर्ण भूमिका रहने बताए ।
रुपन्देही क्षेत्र नम्बर ४ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित खाँलाई स्वागत तथा सम्मान गर्नु अघि कांग्रेस नेता तथा कार्यकर्ताहरुले हाटीबनगाई चोकदेखि कार्यक्रमस्थल मर्चवारीदेवी मन्दिर अगाडीसम्म ¥याली निकालेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij