२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

बुटवलबाट साढे ५१ लाख बराबरको अवैध सामान बरामद

बुधवार , कार्तिक १७, २०७८

भैरहवा, १७ कात्तिक ।
रुपन्देही प्रहरीले साढे ५१ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । ५१ लाख ४८ हजार ५ सय रुपैयाँ बराबरको सामान बरामद गरी पिकअप र दुई जना व्यक्तिलाई पक्राउ गरी भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

विशेष सूचनाको आधारमा बुधबार बिहान ४ बजे रुपन्देहीको बुटवल उपमहानगरपालिका–१ तिनाउ पुलमा भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याइएको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । रुपन्देहीको सैनामैना नगरपालिका–२ का ४० वर्षिय तुलसी थारु र सोही स्थानका ४० वर्षिय मिन प्रसाद भण्डारीले लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरको पिककपमा ल्याउँदै गरिएको अवैध सामान फेला पारी बरामद गरिएको डीएसपी थापाले जानकारी दिए ।

बरामद गरिएका सामानहरुमा लिपगार्ड १५ बन्डल (६० हजार पिस), उनी कुर्था सुरुवाल सेट २३६, चुन्नी ६०० पिस र बनारसी साडी ६७ पिस र पिकअप रहेको उनले बताए । पत्रकार तथा स्थानीयको रोहबरमा अवैध सामान बरामद गरी तुलसी थारु र मिन प्रसाद भण्डारीलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।