
बिहिवार , मंसिर २, २०७८
भैरहवा, २ मंसिर ।
‘स्वेच्छिक कर सहभागिता अभिवृद्धि : सुशासन, विकास समृद्धि भन्ने नाराका साथ दशौैं राष्ट्रिय कर दिवस, २०७८ तथा राष्ट्रिय कर सप्ताह–२०७८ मनाउन सुरु गरिएको छ । बुधबारदेखि सुरु भएको कर सप्ताह अन्तर्गत मंसिर ७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
आन्तरिक राजस्व कार्यालय भैरहवाले बुधबार भैरहवामा आयोजना गरेको कर सप्ताहको समुद्घाटन कार्यक्रममा कार्यालयको कार्यक्षेत्र क्षेत्रगत अन्तर्गत दर्ता रहेका करदाताहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने करदाता सम्मानित भएका छन् । आर्थिक वर्ष २०७६÷७७ मा सबैभन्दा बढी कर दाखिला गर्ने रुपन्देहीको सिद्धार्थनगर–१२ मा अवस्थित उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र नवलपरासीको वर्दघाट–७ मा अवस्थित श्री किसान पाइप प्रोडक्स प्रा.लि सम्मानित भएका हुन् ।
त्यस्तै सो अवसरमा आन्तरिक राजस्व कार्यालय भैरहवामा रही उल्लेखनीय एवं प्रशसंनीय कार्यसम्पादन गरेको भन्दै नायब सुब्बाद्वय कृष्ण प्रसाद पन्थी र जीवन पाण्डेलाई नगदसहित सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पछिल्लो समय कार्यालय प्रविधिमैत्री बन्दै गएको बताए । उनले लक्ष्य अनुसार राजस्व संकलन भइरहेको बताए । प्रजिअ तिवारीले नेपाल सरकारले उद्योगी व्यवसायी तथा करदातालाई करमा छुट दिएको र यस्ता छुटलाई निरन्तरता दिदै जानुपर्ने बताए । उनले भने, ‘जुन कर प्रणाली अवलम्बन गरेको छौं, सो अनुसार स्वयं करदाता नै पहिलो कर अधिकृतको रुपमा रहेको छ । ’उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । उनले घरघरमा करबारे चर्चा हुने गरेको बताए । आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यले करको दर नभइ दायरा बढाउनुपर्ने आवाज उठ्दै आएको बताए । उनले राष्ट्रको विकासमा करको योगदान रहेको बताए । प्रमुख कर अधिकृत आचार्यले विभिन्न कार्यक्रमका साथ यस वर्ष राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह मनाइने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले स्वेच्छिक कर तिर्नेको संख्या बढेको बताए । उनले भने, ‘हामीले तिरेको कर कहाँ गएको छ, तिरेको कर पुँजीगत खर्चमा नलागेसम्म विकास र समृद्धि हुन सक्दैन् । ’
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले कर तिरे अनुसार सेवा प्राप्त गर्न नसकिएको बताए । उनले उद्योगी व्यवसायीले कोभिडको समस्यामा कमाउन नसके पनि कर तिरेको बताए । कर तिर्ने व्यवसायीको संख्या बढ्दो क्रममा रहेको उनको भनाइ थियो ।
नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले स्वेच्छिक करमा अभिवृद्धि गर्न करदातालाई बुझाउनुपर्ने बताए । उनले कर तिर्ने प्रतिष्पर्धा गर्ने अभियान नै चलाउनुपर्ने बताए ।
चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव जे.पी. कंडेलले भारतीय सवारीसाधन नेपालभरी निर्वाध आउन पाउने तर नेपाली सवारीसाधन भारतका सीमित स्थानमा मात्र जान पाउने कस्तो नियम भन्दै प्रश्न गरे ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले करले व्यवसायको सुदृढीकरण गर्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले करबाट विकास निर्माण भइरहेको बताए ।
उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले नवलपरासी उद्यमीको थलो बन्दै गएको बताए । उनले कर तिर्नुपर्छ भन्ने सन्देश गएको बताए ।
जिल्ला समन्वय समिति रुपन्देहीका समन्वय अधिकारी धर्मा अर्यालले भनिन् जति कर उठ्छ त्यति सेवा प्रवाह चांडो हुन्छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठक, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) रुपन्देहीका अध्यक्ष शिवहरि शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य शंकर पाण्डे लगायतले बोल्दै करले राष्ट्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको चर्चा गरे । उद्धव अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij