२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

करारमा कार्यरत जनशक्तिलाई स्थायी गर्ने त्रिविको निर्णयप्रति अनेरास्ववियुको आपत्ति

शनिवार , मंसिर १८, २०७८

भैरहवा, १८ मंसिर । 
१० वर्षदेखि करारमा कार्यरत जनशक्तिलाई स्थायी गर्ने त्रिभवन विश्वविद्यालय सिनेटको निर्णयप्रति नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आपत्ति जनाएको छ । विश्वविद्यालय आफैंमा एक प्राज्ञिक थलो भएको भन्दै अनेरास्ववियुले प्राध्यापक तथा कर्मचारी नियुक्ति गर्दा सेवा आयोगमार्फत खुल्ला प्रतिष्पर्धा गराउनुपर्ने माग गरेको छ ।

त्रि.वि. प्रशासनले २०७८ मंसिर १४ गतेको सिनेट बैठकमा जबरजस्त रुपमा करार प्रध्यापकलाई स्वतः स्थायी गर्ने अवैधानिक निर्णय गरेको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए । प्राध्यापक तथा कर्मचारी नियुक्ति गर्दा त्रि.वि. सेवा आयोगमार्फत खुल्ला प्रतिष्पर्धा गराई उत्कृष्टता प्राप्त गर्ने व्यक्तिलाई मात्र जिम्मेवारी दिनुपर्ने उनले बताए ।

उक्त माग राख्दै शुक्रबार अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमुख अनिल कुमार झामार्फत त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाएको छ । 

त्रिभुवन विश्वविद्यालयलाई कार्यकर्ता भर्ति केन्द्र नभएर एक शैक्षिक गुणस्तरयुक्त विश्वविद्यालय बनाउनुपर्छ भन्ने कुरामा अनेरास्ववियु प्रतिबद्ध छ । तर पछिल्लो समय सिंगो सरकार र त्रि.वि. प्रशासनको मिलोमतोमा आशिंक र करार प्रध्यापक व्यवस्थापनको नाममा प्रतिष्पर्धा भन्दा बाहिर गएर गरिने नियुक्तिको पक्षमा अनेरास्ववियु नरहेको कुरा जानकारी गराइन्छ, ज्ञापनपत्रमा उल्लेख छ ।

‘हामी त्रि.वि. लाई स्वच्छ मर्यादित तथा दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक केन्द्रको रुपमा स्थापित गर्नुपर्दछ भन्ने कुरामा दृढ छौँ । तसर्थ यस्ता गलत निर्णयलाई फिर्ता लिन र खुल्ला प्रतिष्पर्धामार्फत आवश्यक जनशक्ति परिपूर्ति गर्नको लागि त्रिभुवन विश्वविद्यालयसमक्ष जोडदार माग गर्दछौँ, ’ज्ञापनपत्रमा भनिएको छ ।