images

सोमवार, बैशाख २४ गते २०८१

आत्महत्या : एक भयानक दृष्य

आत्महत्या : एक भयानक दृष्य

images
images
images
मंगलवार, श्रावण ६ २०७७
मंगलवार, श्रावण ६ २०७७
  • आत्महत्या : एक भयानक दृष्य
    आत्महत्या अहिलेको परिवेशमा एक भयानक संकटको रुपमा देखा पर्दै गइरहेको छ । हरेक वर्ष विश्वमा आत्महत्याको दर अप्रत्यासित रुपमा बढेको देखिन्छ । सामान्य रुपमा हेर्दा कुनै रोग जस्तो देखिदैन, अचानक हुन्छ जस्तो देखिन्छ तर यसलाई मनोचिकित्सकहरु अनुसार भन्ने हो भने यो सबै भन्दा खतरनाक मानसिक रोग हो भन्ने गरेका छन् । समयमा सो पहिचान गर्न सके यसबाट बच्न सकिने बनाए पनि यसको पहिचान कसरी गर्ने भन्ने कुरामा खासै त्यस्तो ठोस प्रमाणहरु आउन सकेको छैन् । कस्तो कस्तो अवस्थामा मानिस आत्महत्या गर्न प्रयास गर्दछ ? कति प्रतिशत आत्महत्याको प्रयास सफल हुन्छ ? यसको खासै उपलब्धिमुलक अनुसन्धान भएको जस्तो लाग्दैन । आत्महत्या व्यक्तिको आफ्नो कारण मात्र हुँदैन होला किनकी उक्त मानिसलाई आत्महत्या गर्न बाध्य बनाउने अन्य धेरै माध्यमहरु होलान् । त्यसको पहिचान गर्न सकियो भने सायद आत्महत्या हुने अवस्थालाई कम गर्न सकिन्छ कि ? समस्यालाई समाधान गर्न पहिला कारण जान्न जरुरी हुन्छ, अनि मात्र त्यसको रोकथाम र समाधान गर्न सहज वातावरण बन्दछ । 

    विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार विश्वमा वार्षिक करिब १ लाख मानिसले आत्महत्या गर्ने गरेको पाइन्छ । संगठन अनुसार प्रत्येक ४० सेकेण्डमा १ जनाले आत्महत्या गरेको देखिन्छ । सर्वेक्षण अनुसार सबै भन्दा युरोपमा मृत्यूदरको १५.५ प्रतिशत मानिस आत्महत्या गरेको देखिन्छ भने दक्षिण एसियामा जम्ममा मृत्युदरको १३.२ प्रतिशतले आत्महत्या गरेको देखिन्छ । हाल आएर नेपालमा पनि आत्महत्या गर्ने संख्या उल्लेख्य रहेको पाइन्छ र यो संख्या दिनानुदिन बढिरहेको छ । अहिले नेपालमा वार्षिक करिब ७ हजार जनाले आत्महत्या गरेको पाइन्छ, जसमा १५–४९ वर्ष समुहका मानिसहरु बढी देखिन्छ भने यसमा पनि महिलाहरुको संख्या उल्लेख्य रहेको हुन्छ । आत्महत्याको प्रयास पनि पुरुषले भन्दा तीन गुणा बढी महिलाले गरेको एक अध्ययनले देखाएको छ । नेपालको परिवेशमा कुरा गर्ने हो भने आत्महत्या हुनुमा लैंगिक हिंसा प्रमुख कारणको रुपमा रहेको छ । जसमा गरीबीको कारण माइतीबाट दाइजो नल्याउने, छोरी मात्रै जन्माउने प्रमुख रहेको छ किनकी उनीहरुलाई घर पक्षबाट दाइजो र छोरा जन्माउनको लागि बढी भन्दा बढी दवाव दिने, कुट्ने, पिट्ने, खाना खान नदिने, घरबाट निकाल्ने जस्ता दुव्र्यवहार गरी आत्महत्याको लागि विवश बनाउने कार्य गरिन्छ । त्यस्तै जातीय विभेद र छुवाछुत पनि आत्महत्याको कारण बन्न पुगेको हुन्छ । यो हाम्रो समाजमा घोर निन्दनीय विषय समेत हो । पुरुषहरु विशेषतःगरिबी र उचित रोजगारीको समस्याको कारण र अनावश्यक पारिवारिक दवाव र अन्य कुनै ठूला दुर्घटनाबाट भएको क्षति सहन नसकी वा कुनै गम्भिर रोगहरु जसको उपचार महंगो वा सम्भव छैन त्यस्तो अवस्थामा उनीहरुले आत्महत्याको बाटो रोजेको पाइन्छ भने घरव्यवहार, छोराछोरीको दुव्र्यवहार, सामाजिक बहिस्कार वा विचलन अथवा अत्याधिक मात्रामा मदिरापान गरी होस गुमाएर पनि यस्तो बाटो रोज्ने गरेको पाइन्छ ।

    त्यस्तै भर्खरका युवायुवतीहरु प्रेमी–प्रेमिकाहरु एक आपसमा सानो तिनो मनमुटाव भएमा, आफुले भनेको संग विवाह गर्न नपाएमा वा आफुले मन पराएको कुनै वस्तु टाढा भएमा, विवाह अघि गर्भवती भइ समाजमा इज्जत जाने डर पैदा भयो भने, त्यतै बलात्कृत भइ समाजले के भन्छन् भन्ने डर अझ घर परिवारको सधैको कचकच वा बाबाआमाको वियोग, झगडालाई पनि आत्महत्याको कारण मानी सो बाटो रोजेको पाइन्छ । त्यति मात्र नभएर अहिले त झन १५ वर्ष मुनीका बालकहरु समेत आत्महत्या गर्ने गरेको घटनाहरु सार्वजनिक भइरहेको छ । घरमा कसैले गाली गरे, शिक्षक वा परिवारका सदस्य अथवा साथीहरुले नराम्रो व्यवहार गरे, भनेको कुरा नपाए जस्ता सामान्य विषयमा समेत बालबालिकाहरु आत्महत्याको बाटो रोजेको देखिन्छ । यस्तो भयानक रुपमा यो आत्महत्याका घटना बढेको देख्दा सरकार र सम्बन्धित अभिभावक अनि विद्यालयमा केही नयाँ सोचका साथ कदम चाल्नुपर्ने देखिन्छ । अझ आजकल त सामाजिक सञ्जालको यति दुरुपयोग भएको छ कि त्यसको कारण पनि कतिपय बालबालिकाहरु आत्महत्याका शिकार भएका छन् । संचारले हामीलाई सेवा त दिएको छ तर त्यसबाट हुने भय र त्रास पनि उत्तिकै मात्रामा थपिएको छ ।

    सामाजिक संञ्जालको सही उपयोग नभइ यसबाट जीवन नै समाप्त गर्ने खालका कार्यहरु पनि भइरहेको छ । भर्खर दाङ, चितवन, काठमाण्डौ लगायतका ठाउँमा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर आत्महत्या गरेको घटनाहरु सार्वजनिक हुँदा साँच्चै समाजले कताको बाटो रोजेको छ ? यस्तो दृष्यले बालबालिकाहरुको कलिलो मस्तिष्कमा कस्तो असर पर्ला र परेको होला अनुसन्धानको विषय बनेको छ । आखिर किन हुन्छ आत्महत्या ? के मानव समुदाय विक्षिप्त मनस्थितिमा पुगेकै हुन् त ? के प्रकृतिसंग रमाउने खेल्ने अवसरलाई प्रयोग गर्न नजाने कै हो त ? कि विश्वले अवलम्वन गरेको शिक्षा नीतिले नै आत्महत्याको दुरुत्साहन भएको त छैन् ? है न भने किन ५÷६ कक्षामा पढ्ने बालबालिकाहरु आत्महत्याका शिकार भएका छन् ? उनीहरुलाई के थाहा छ र जीवनको बारेमा र आत्महत्याको बारेमा ? कि हामीले नै आत्महत्याको लागि उक्साई राखेका छौ ? अब सोच्नुपर्ने बेला भएको छ । अन्यथा भोलीका दिनमा अझ बढी आत्महत्याका घटनाहरु बढ्न सक्दैन भन्ने अवस्था नहोला । हुन त विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार मध्यमवर्ग भित्रको पनि तल्लोस्तरका मानिसहरु बढी मात्रामा आत्महत्या गरेको पाइएको छ भनिन्छ तर सामान्य मानिसदेखि देशका प्रमुख व्यक्तिहरु जसलाई बाहिरबाट हेर्दा कुनै पनि प्रकारको आत्महत्या गर्नुपर्ने कारण देखिदैनथ्यो । त्यस्ता व्यक्तिहरु पनि आत्महत्याको शिकार भएको इतिहास पाइन्छ ।

    नेपालमा त झन् राजा, प्रधानमन्त्रीदेखि साधारण जनतासम्मले सम्मले पनि आत्महत्या गरेको पाइन्छ । यीमध्ये नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापालाई विभिन्न डरधम्की देखाई बेइज्जत हुने अवस्था आउने भएपछि आफैले घाँटी रेटेर मृत्यूवरण गरेको इतिहास पढिएको छ भने मंल्ल बंशका राजा विश्वजीत मल्ल, महिलाअधिकारकर्मी एवं क्रान्तिकारी नेतृ योगमाया न्यौपानेले पनि आत्महत्या गरेको भनिन्छ, त्यस्तै सर्वोच्च अदालतका तत्कालीन न्यायधिश भरतराजउप्रेती, चलचित्र निर्देशक आलोक नेवाङ्गदेखि ¥यापगायक यम बुद्धले समेत आफै मृत्यूको बाटो राजेका थिए । पछिल्लो समय भारतीय चलचित्र क्षेत्रका उदाँउदा चर्चित अभिनेता सुसान्तसिंह राजपुतको आत्महत्याका कारण उनकै नाममा ३÷४ जनाले आत्महत्या गरेका समाचारहरु समेत बाहिर आइरहेको छ । आत्महत्याका लागि धेरैजसो मानिस झुण्डिने, विष सेवन गर्ने, नदी, कुवा, पोखरी आदिमा फाल हाल्ने, नसा काट्नेदेखि आफै दुर्घटना गराउने सम्मको क्रियाकलाप गरेको पाइन्छ । 

    मनोचिकित्साका अनुसार आत्महत्या गर्नु एक प्रकारको मानसिक रोग हो, यो धेरैजसो गरिबी, पिछडापन, नैराश्यता र जीवनलाई सहज रुपमा नबुझेको अवस्थामा हुन्छ, विश्वमा धेरै मानिसहरु आत्महत्याका बारेमा सोच्दछन् भने कोहीले त्यसलाई प्रयोगको रुपमा लिने र संयोगवस आत्महत्या हुन पुग्ने समेत देखिन्छ । यदि कसैले पनि जीवनलाई गलत व्याख्या गरेको छ, चिन्तित कुराहरु मात्र गरेको छ, म हरेस खाए, मलाई अब बाँच्न मन छैन जस्ता अनौठा व्यवहार देखाएमा हामीहरु उसंग सचेत भएर उसको लागि अन्य उपचारको बारेमा सोच्नु पर्दछ वा मानिसिक रोग विशेषज्ञकोमा गई सल्लाह लिनुपर्दछ । वा आफैमा पनि यस्ता खालका नैसास्यता, बैराग्यता वा विविध समस्याहरु भएको जस्तो भान हुन थाल्यो या जीवन नै वेकार हैछ भन्ने भावना पैदा भयो भने तत्कार परिवारको सदस्यका सहायतामा मनोचिकित्सकको मा सल्लाह लिन अवश्य जानुपर्दछ । 

    अन्त्यमा, आत्महत्या एक भयानक विषय त हो र पनि समस्याको विकल्प कदाचित होइन, आत्महत्या भनेको आवेगमा आएर गरिने एक प्रकारको मुर्खता हो । हुन त कतिपय युरोपियन देशहरुले महाभारतमा भिष्म जस्तो इच्छामृत्यूका लागि कानुन माग गरिएको छ तर नेपालमा आत्महत्या र आत्महत्या दुरुत्सानको अभियोगमा कडा कानुन बनाइएको छ । आत्महत्या धार्मिक रुपले भन्दा पाप र कानुनी हिसाबले भन्दा गैरकानुनी क्रियाकलाप हो । कसैलाई पनि यसो गर्न वा गर्न बाध्य बनाउन पाइँदैन् । कानुनले जे भने पनि हरेक घर अब आत्महत्याका विरुद्ध एक हुनुपर्दछ । विशेष कार्यक्रमहरु सिर्जना गर्नुपर्दछ । बालबालिकाहरुलाई आफ्ना परम्परा, सस्कृति, मौलिकताका बारेमा अध्ययन गर्ने वातावरण गराउनुका साथै वैदिक संस्कृतिका ध्यान, योग, मेडिनेशन, स्वास्थ्य आहार र परिवारलाई प्रयाप्त समय दिनुपर्ने देखिन्छ जसले गर्दा नकरात्मक विचार हराउँदै जान्छ र सकारात्मक विचार पैदा हुन्छ जुन सभ्य समाज निर्माणमा समेत काम लाग्दछ अनि यस्ता खालका घटना दुर्घटनामा पक्कै पनि कमी आउँछ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij