
मंगलवार , मंसिर २१, २०७८
बुटवल, २१ मंसिर ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको नीति राम्रो बनाउन सक्ने हो भने लगानीको खोलो लाग्ने बताएका छन् । विकसित भएका मुलुकले लगानीलाई महत्व दिएकै कारण अर्थतन्त्रमा अगाडि बढेको पनि उनले बताए ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ६८ औं वार्षिक साधारणसभालाई बुटवलमा सम्बोधन गर्दै उनले बुटवलको बमघाट–बसन्तपुर केवलकार निर्माण सम्पन्न भएपछि बुटवलसंगै यस क्षत्रको पर्यटन उद्योग फस्टाउने विश्वास व्यक्त गरे । अहिले बैंक तथा वित्तीय संस्थामा उत्पन्न भएको तरलता अभावले समस्या उत्पन्न भएको उनको भनाइ छ । नीजि क्षेत्र लक्षित नीति बनाउँदा नीजि क्षत्रको सुझाव सल्लाह लिएर गर्ने हो भने त्यसमा नीजि क्षेत्रको पनि अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने उनको भनाइ छ ।
कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले स्थापनाको समयदेखि हालसम्म यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा संघले खेलेको भूमिकाको चर्चा गरे । कोरोना महामारीले मुलुकको अर्थतन्त्रलाई तहसनहस बनाएको बताउंदै उनले संघ, प्रदेश र स्थानीय सरकारलाई व्यवसायमैत्री भइदिन आग्रह गरे । प्रदेश संरचना स्थापना र प्रदेशको स्थायी राजधानीको लागि संघले आफ्नो भवन सरकारलाई उपलब्ध गराएको स्मरण गर्दै स्थायी राजधानी कायम हुन नसके पनि बुटवल प्रदेशको आर्थिक केन्द्र बन्ने विश्वास व्यक्त गरे ।
त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा व्यवसायीमैत्री, लगानीमैत्री र रोजगारमैत्री वातावरण बनाएको दावी गरे । निजी क्षेत्रसंगको सहकार्य बिना विकास सम्भव नभएको बताउँदै उनले बुटवलले निजी क्षत्रलाई अगाडि लगाएर विकासका पाइला चालेको दावी गरे । त्यसअगाडि नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले बुटवलका मेयर नेपालभरीमै काम नगर्ने मेयरको रुपमा पहिचान बनाएको आरोप लगाएका थिए । त्यसको जवाफमा सुवेदीले बुटवल नेपालमै उत्कृष्ट नगरपालिकाको रुपमा स्थापित भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले सीमा नाका कडाई गर्न महासंघ र व्यक्तिगत रुपमा आफू पनि लागि परेको बताउँदै बोर्डरलाई ईकोनोमिकल्ली शिल गर्न लागिपरेको जानकारी गराए । त्यसले व्यवसायीलाई पनि राहत पुर्याउने र मुलुकको राजस्वमा पनि सकारात्मक योगदान पुग्ने बताए ।
त्यस्तै महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा भएका समस्या समाधानमा गम्भिर बन्न सरकारलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमति प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा, नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समिति सभापति भरत आचार्य, नेपाली कांग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद र महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij