
सोमवार , मंसिर २७, २०७८
बुटवल, २७ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगर कमिटीले कोरोना बीमा वापत पाउनु पर्ने रकम तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नागरिकले ५० प्रतिशत र राज्यले ५० प्रतिशत प्रिमियम लगानी व्यहोर्ने नीति भए पनि सरकारले उक्त रकम भुक्तानी गर्न नसक्दा बिमा कम्पनीहरुले भुक्तानी नदिएको भन्दै एमालेले ध्यानाकर्षण गराएको छ ।
एमाले बुटवल उपमहानगरका अध्यक्ष किसन ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘कोभिङ प्रभावितहरुको उपचार र व्यवस्थापनमा समेत हतोत्साही भइरहेको अवस्थामा नागरिकको बिमा गरी उपचारमा सहजीकरण गर्ने उद्देश्यले नागरिकको प्रिमियम लगानी ५० प्रतिशत राज्यले बेहोर्ने गरी बिमित भएका नागरिकहरुले पाउनुपर्ने बिमा रकमको निकासामा ढिलासुस्ती गरी निकासा दिन असमर्थ भएको भन्ने सूचना सार्वजनिक भएकोले शेरबहादुर देउवा सरकारले ५० प्रतिशत प्रिमियम शुल्क कटौती गरी बिमा कम्पनीलाई नदिएका कारण बिमित नागरिकले बिमावापत पाउनुपर्ने रकम नपाएको र ५० प्रतिशत बुझाइसकेको प्रिमियम शुल्कको अपचलन गरी बिमा कम्पनीले बिमित नागरिकलाई रकम उपलब्ध नगराएकोप्रति हाम्रो पाटीको गम्भिर ध्यानाकर्षण भएको छ ।’विज्ञप्तिमा उल्लेख छ ।
‘नागरिकप्रति राज्यकोतर्फबाट गरिएको यस्तो गैरजिम्मेवार कार्यप्रति घोर आपत्ति प्रकट गर्दछौं । बिमित नागरिकहरुले पाउनुपर्ने आफ्नो रकम तत्काल उपलब्ध गराउन सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij