
मंगलवार , पौष ६, २०७८
बुटवल, ६ पुस ।
आशिष स्टेशनरी तथा स्पोर्टस हाउसको आयोजना तथा लायन्स क्लब अफ बुटवलको सहकार्यमा प्रथम लुम्बिनी प्रदेशस्तरीय सी लेभल आशिष कप ब्याडमिन्टन प्रतियोगिता–२०७८ हुने भएको छ । बुटवलको देवीनगरस्थित कबर्ड हलमा पुस ९ र १० गते आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन गरी बताइएको छ ।
आशिष स्पोर्टस हाउसका सञ्चालक आयुष श्रेष्ठले खेलकुदलाई जोडेर अभियान सुरुवात थालेको बताए । उमेर समुहका खेलाडी उत्पादन गर्न सहयोग हुने गरी प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए । प्रतियोगितामा उपाधि विजेताले नगद ३० हजार रुपैयाँ, मेडल, शिल्ड र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । त्यसै गरी दोस्रो टिमले नगद २० हजार र तेस्रो हुने टिमले नगद १५ हजारसहित मेडल, शिल्ड र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी र उदयमान खेलाडीलाई विशेष पुरस्कार, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा १ सय ३२ टिम सहभागी हुने उनले बताए ।
लायन्स क्लबका अध्यक्ष अन्जिल खान, सल्लाहकार सन्दिप कसौधन, मुख्य एम्पायर अर्जुन कार्कीले युवा खेलाडी उत्पादनका लागि सबै सरोकारवाला एकताबद्घ भएर लाग्नुपर्ने बताए । दुईदिन संचालन हुने प्रतियोगितामा ५ लाख खर्च हुने आयोजकहरुको अनुमान छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij