
बुटवल लगानीमैत्री शहर बनेको नगरप्रमुख सुवेदीको दावी
बिहिवार , पौष ८, २०७८
बुटवल, ८ पुस ।
‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ नाराका साथ बिहीबारदेखि बुटवलमा बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला सुरु भएको छ । उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगरमा सञ्चालित मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन् ।
मेला उद्घाटन गर्दै नगरप्रमुख सुवेदीले पूर्वाधार विकासले सम्पन्न भएका कारण बुटवल उपमहानगर लगानीमैत्री शहर बनेको बताए । विश्व बैंकको सूचकांकले नै बुटवल लगानीका लागि सुरक्षित नगरमा सूचीकृत भएको उल्लेख गर्दै सुवेदीले बुटवलमा आगामी तीन वर्षमा साढे ६ अर्ब रुपैयाँ लगानी हुने सुनिश्चित भइसकेको बताए ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र बिना मुलुकको आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले राष्ट्रिय पुँजीमार्फत औद्योगिकरण र व्यापार विविधिकरणमा सरकारको ध्यान जानुपर्ने बताए । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खिमनारायण पराजुलीले बुटवलका मुख्य ४ वटा व्यवसायिक संघ–संस्थामध्ये उद्योग व्यापार संघ कान्छो भए पनि जिम्मेवारी र सामाजिक उत्तरदायित्वमा अरु पुराना संस्था भन्दा कम नभएको बताउँदै स्थानीय, प्रदेश र संघीय सरकारले भेदभाव र पक्षपात गर्न नहुने र गरेमा स्वीकार्य नहुने बताए ।
मेला आयोजक संघका अध्यक्ष गोबिन्दराज गैरेले कोभिड महामारीका कारण उद्योगी व्यवसायी मारमा परे पनि सरकारले राहत दिन नसकेको गुनासो गर्दै राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्ने माग गरे ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले मेला महोत्सवले अर्थतन्त्र चलायमान बनाउन सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै मेलामा उपभोक्ताको हित र स्वास्थ्यलाई ध्यान दिन सुझाव दिए ।
मेला उद्घाटनका अवसरमा नेकपा (एकीकृत समाजवादी) का लुम्बिनी प्रदेश सचिव राजु गुरुङ, जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य पंकज राई, नेकपा (माओवादी केन्द्र) रुपन्देही संयोजक निर्मल जीसी, नेपाली कांग्रेसका जिल्ला सदस्य हरि अर्याल, नगर सभापति खेलराज पाण्डे, एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवाली, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले मेला महोत्सवहरूलाइ उपभोक्तामैत्री एवं परिस्कृत र गुणस्तरीय बनाउन सुझाव दिए ।
पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका ४ सय ७० स्टल रहेका छन् । मेला अवधिभर करिब ५० करोड कारोबार हुने संघका महासचिव पदम जीसीले जानकारी दिए । मेला उद्घाटन अघि ३४ वटा संघ–संस्थाको सहभागितामा देवीनगर चौपारीबाट मेलास्थलसम्म झाँकीसहितको ¥याली निकालिएको थियो । मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, निःशुल्क दन्त शिविर, रक्तदान, लोक दोहोरी गायन लगायतका आकर्षण रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij