२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

मेलामा रक्तदान गर्नेको लर्को, डेढसय पिन्ट रगत संकलन 

बुधवार , पौष १४, २०७८

बुटवल, १४ पुस । 
मेला महोत्सवहरु भन्नेबित्तिकै सांस्कृतिक कार्यक्रममा रमाउने र स्टलमा किनमेल गर्ने भन्ने आम धारणा छ । तर बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा सांस्कृतिक कार्यक्रम र किनमेलबाहेक केही नौला काम पनि देख्न सकिन्छ । त्यस्तै मध्येको एक हो रक्तदान । 

‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ नाराका साथ उद्योग व्यापार संघ बुटवलले पुस ८ गतेदेखि सञ्चालन गरेको मेलामा रक्तदान गर्न सकिने व्यवस्था छ । 

रक्तदानबारे समाजमा अझै पनि जनचेतना कम रहेकोले जनचेतना फैलाउन नेपाल नियमित रक्तदाता संघले मेलामा रक्तदानको व्यवस्था मिलाएको हो । मेलाको सचिवालयसंगै राखिएको स्टलमा मेला अवलोकन गर्न आएका स्वस्थ व्यक्तिले बिहान १० बजेदेखि साँझ ४ बजेसम्म जुनसुकै समयमा रक्तदान गर्न पाउँछन् । बुटवलमा आयोजना हुने मेला महोत्सवमा पहिलोपटक रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारीले बताए । रक्त सञ्चार सेवा केन्द्रमा शोधभर्ना गरेर मात्र रगत पाइने परिपाटी अन्त्य गरी सहज रुपमा जोसुकैले रगत पाउन सकुन् भनेर मेलामा रक्तदान आयोजना गरिएको उनले बताए । 

मेला महोत्सवहरु नाचगान र रमाइलोका लागि मात्र हो भन्ने मान्यतालाई चिरेर सामाजिक कामहरु पनि गर्न सकिन्छ र नयाँपन पनि हुन्छ भनेर रक्तदान गर्ने व्यवस्था मिलाइएको मेलाका संयोजक एवं उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले बताए । 

बुटवलको व्यापार मेलामा राखिएको रक्तदानमा छैठौं दिनसम्म करिब एक सय ५० जनाले रक्तदान गरिसकेका छन् । एकजनाले गरेको रक्तदानले अरु कसैको जीवन बचाउन सकिने भएकाले बुटवलमा जस्तै अन्य स्थानमा हुने मेला महोत्सवमा पनि रक्तदान गर्ने व्यवस्था मिलाउन सके समाजलाई थोरै भए पनि योगदान पुग्ने संघकी सचिव आयुशा कंडेलले बताइन् । पुस २० गतेसम्म चल्ने मेलामा ४ सय ७० स्टल छन् । मेलामा हरेक दिन दर्शकको उपस्थिति बढ्दै गएको संघका महासचिव पदम जीसीले बताए । मेलामै दाँतको समस्या सम्बन्धी निःशुल्क परामर्श लिन सकिने स्टल पनि राखिएको छ ।