
आइतवार , पौष २५, २०७८
जनकपुर, २५ पुस ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनबाट प्रदेश नम्बर २ मा एमाले पहिलो पार्टी बन्ने दावी गरेका छन् । एमाले सिरहाको १० औं जिल्ला अधिवेशनलाई लहानमा आइतबार सम्बोधन गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लैले गठबन्धनमा रहेका दलहरूलाई हरेक ठाउँमा पछार्ने र एमाले प्रदेश २ कै ठूलो दल बन्ने दावी गरे ।
तराई–मधेशका जनताले अब जातीय र क्षेत्रीय मुद्दा भन्दा विकास खोजिरहेकाले एमालेको लहर तराई–मधेशमा पनि बढ्दै जान थालेको बताउँदै उनले अन्तरद्वन्द्वमा खेलेर एमाले पार्टीलाई कमजोर बनाउन खोज्नेहरू आगामी निर्वाचनबाट परास्त हुने जिकिर समेत गरे ।
तीनै तहको निर्वाचन गर्नुपर्ने बताउँदै उनले जति चाँडो निर्वाचन भयो त्यति चाँडो निकास र विकासको बाटो खुल्ने भएकाले कुनै पनि बहानामा निर्वाचनलाई पर सार्ने काम गर्न नहुने बताए ।
कार्यक्रममा एमालेका सचिव रघुवीर महासेठ, स्थायी समिति सदस्य प्रभु साह, पोलिटब्यूरो सदस्य लीलानाथ श्रेष्ठ, केन्द्रीय सदस्यहरु ज्वालाकुमारी साह, सुमनराज प्याकुरेल लगायतले सम्बोधन गरेका थिए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij