उनको फार्ममा तीन लाख पर्ने ९० किलोको बोका पनि रहेको उनी बताउँछन् । १६ महिने त्यो बोकालाई अर्को वर्षसम्म पालेर चार लाखसम्म पार्ने योजनामा उनी छन् । प्रजनन र नश्ल सुधारका लागि बोका पालेको उनको भनाइ छ । फार्ममा बोयर बोका र स्थानीय खरी जातका पाठीबाट नश्ल सुधार गर्ने गरिएको छ । बाहिरका किसानले पाठीलाई प्रजननका लागि बोकासँग ल्याउँदा उनले एक हजार ५०० सम्म शुल्क लिन्छन् ।
खोर निर्माणदेखि फार्मको संरचना तयार पार्दा अहिलेसम्म १० लाख लगानी भइसकेको रानाले बताए । ‘अहिले लगानीकै चरणमा छु, ऋणधन गरेर भए पनि फार्मलाई अझ विस्तार गर्ने सोचमा छु’, उनले भने, ‘आउँदो वर्षदेखि बल्ल आम्दानी आउन सुरु होला ।’ बोयर बाख्राको बजार माग र मूल्य बढी छ । व्यावसायिक पालनका लागि पाठापाठीको पनि उत्तिकै खोजी हुन्छ ।
रानाले बोयरपालनमा जिल्लाकै ‘नमूना फार्म’ बनाउने लक्ष्य लिएको बताए । घर वरपरको बारी र खाली जग्गामा उनले बाख्रपालनलाई चाहिने उन्नत घाँस खेती गरेका छन् । बोयर बाख्रालाई उच्च प्रोटिनयुक्त घाँस चाहिने भएकाले २५ रोपनी क्षेत्रफलमा उन्नत जातको घाँसखेती गरेको उनको भनाइ छ ।
जैमिनी नगरपालिकाका पशु प्राविधिक नेत्र आचार्यका अनुसार बोयरको तौल र शारीरिक वृद्धि छिटो हुन्छ । ‘बोयर बाख्रा दिनमा एक सय ५० देखि दुई सय ग्रामसम्म बढ्छ, दुई वर्षमा 1२० किलोसम्म हुन्छ’,उनले भने । पशु प्राविधिक आचार्यले पहाडी हावापानीमा बोयर जातको बाख्रापालन फस्टाउने गरेको बताए । बाख्रापालक किसानलाई खोर सुधार, घाँस, औषधिलगायत अनुदान दिएर नगरपालिकाले सघाउँदै आएको उनको भनाइ छ । रासस