मंगलवार , माघ १८, २०७८
काठमाडौं, १८ माघ ।
अर्थमन्त्री जनार्दन शर्माले राजस्व राष्ट्रको रगत पसिना भएकाले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन् । मंगलबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै उनले राजस्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताए । उनले राजस्व चुहावटलाई नियन्त्रण गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिए । “चुहावट नियन्त्रण आजैबाट सुरु गर्नुपर्छ”, मन्त्री शर्माले भने । यसका लागि आवश्यक बजेट तथा अन्य व्यवस्था गर्न अर्थ मन्त्रालयले कुनै कन्जुस्याइँ नगर्ने उनले बताए ।
राजस्व चुहावट नियन्त्रण गर्न ‘अपरेशन’ आवश्यक रहेको भन्दै उनले यसलाई गृह मन्त्रालय र प्रहरी प्रशासनले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । सो अपरेशनका लागि विशेष टोली वा ‘टास्क फोर्स’ बनाइने उनले उल्लेख गरे । सँगसँगै नीतिगत सुधारलाई पनि लिएर जानुपर्ने उनको भनाइ छ ।
मन्त्री शर्माले आम मानिसमा चेतना नहुँदा पनि कतिपय राजस्व चुहावट भइरहेको औँल्याए । सचेतनामूलक सन्देश फैलाउन आवश्यक रहेको उनले बताए । यसरी सन्देश फैलाएर सर्वसाधारणमा चेतना पैदा भई सम्पूर्ण निकाय मिलेर राजस्व चुहावटविरुद्ध लागे ८० देखि ९० प्रतिशतसम्म नियन्त्रण गर्न सकिने उनको भनाइ थियो ।
नाकामा रहेका प्रहरी, कर्मचारी लगायतलाई तालिमको व्यवस्था, द्रुत गतिमा संरचनागत तथा प्रविधिको विकास गर्ने लगायत कार्यले पनि राजस्व चुहावटमा कमी ल्याउन सकिने उनले बताए । पछिल्लो समय डिजिटल प्रविधिमार्फत् राजस्व चुहावटका घटना बढेका छन् । क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङ लगायतका ‘अवैध’ कार्य भइरहेका छन् ।
यससँगै आय खर्चको गलत घोषणा गर्ने, कानुनको गलत व्याख्या गर्ने, नक्कली बीजक तथा अन्तःशुल्क स्टिकरको प्रयोग गर्ने, भन्सारबिन्दुको नजिकै गोदाम राखेर चोरी पैठारी गर्ने लगायतका प्रवृत्ति देखिँदै आएका छन् । त्यस्तै भन्सारबाट सुन, चाँदी, विद्युतीय सामग्री, पशु चौपाया, घरायसी मालवस्तु लगायतमा राजस्व चुहावट बढी हुने गरेको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij