२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विरोध गर्नेहरुलाई ठाडो जवाफ दिने होइन : कृषिमन्त्री भुसाल

आइतवार , कार्तिक ९, २०७७

भैरहवा, ९ कार्तिक ।
संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सरकारले विरोधीलाई पनि सुन्नुपर्ने बताएका छन् । सबै कुरा सत्यनाश भइनसकेको बताउँदै उनले विरोध, आलोचना र असन्तुष्टहरुको जिम्मा सरकारले लिनुपर्ने बताए । 

उनले भने, ‘असन्तुष्टहरुको जिम्मा हामी लिन्छौ, विरोधहरुको जिम्मा लिन्छौं । आलोचनाहरुको जिम्मा लिनुपर्छ र बिवोधलाई केलाउनुपर्छ । केही नबुझेर गरेको विरोध छ भने त्यसलाई बुझाउनुपर्छ । बुझाउने जिम्मा हाम्रो हो, सरकारको हो । ठाडो जवाफ दिने होइन ।“

उनले जसले तिम्रो कबुल गरेको छैन भन्छ, त्यसलाई आत्मसाथ गर्नुपर्ने बताए । उनले भने, ‘कुण्ठाग्रस्त भएर कसैले विरोध गर्छ भने त्यसलाई त्यति ध्यान नदिए नि हुन्छ ।’

मन्त्री भुसालले समाजमा धेरै समस्या र असफलता हुने र मानवीय स्वभाव आफ्ना असफलता अरुमाथि थोपर्ने प्रवृति रहेको पनि बताए । उनले सरकारले ठिकै ठीकै काम गरेको पनि बताए । उनले भने ‘हामी ठीकै ठीकै ठाउँमा छौ ।’ पहिले भन्दा राम्रो भएको तर सोचे जस्तो अझै हुन नसकेको उनले बताए । 

रुपन्देहीको शुद्धोधन गाउपालिका वडा नम्बर ४ को नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री भुसालले स्थानीय सरकारलाई सबैभन्दा बलियो बनाउने गरी संघिय सरकारले योजना ल्याउन थालेको पनि बताए । उनले भने, ‘हाम्रो मन्त्रालयको सबै बजेट स्थानीय तहलाई पठाइएको छ । माथिबाट काम गरेर समृद्धि आउदैन । तलबाट काम गर्ने गरी मन्त्रालयमा कुनै पनि बजेट नराखि सबै पालिकामा कृषिको बजेट पठाएका छौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका भुसालले कृषिको क्षेत्रमा क्रमश : सुधार गर्दे गएको र कृषि मन्त्रालयमा प्रभाव र दबाब चल्दैन भन्ने कुरा सबैले बुझिसकेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद तुल्सी प्रसाद चौधरीले सरकारले जनपक्षीय रुपमै काम गरिरहेको बताए । 

शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले निर्वाचनका बेलामा गरिएका अधिकांश प्रतिबद्धता पूरा गरेको बताए । 

७४ लाख ८६ हजार ६५१ रकममा निर्मित उक्त कार्यालय डिजिटल सेवा प्रवाह गर्ने कार्यालयको रुपमा रहने वडाअध्यक्ष राजेन्द्र कंडेलले बताए । करिब ११ हजार जनसंख्या रहेको वडालाई डिजिटल सेवा प्रवाहको वडा बनाउने गरी काम थालनी गरिएको उनले बताए ।