
मंगलवार , मंसिर ९, २०७७
परासी, ९ मंसिर ।
छोटी भन्सारबाट स्तरउन्नति भइ मुल भन्सारमा परिणत भएको महेशपुर भन्सारमा व्यापारीहरुको चाप बढन सकेन् । विगत लामो समयदेख छोटी भन्सारको रुपमा काम गर्दै आएको महेशपुर भन्सार स्तरउन्नति भई मुल भन्सार त बन्यो तर भन्सारमा व्यापारीहरुको चाप र कारोबार फिटिक्कै बढेन ।
वि.सं.२०७५ साल साउन १ गते नेपाल सरकारले उक्त छोटी भन्सारलाई मुल भन्सारको रुपमा घोषणा ग¥यो तर भन्सारलाई आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्था नमिलाएपछि भन्सारले गति लिन सकेन । त्यसैमा भन्सारमा व्यपारीहरुको चाप पनि बढन सकेन जस कारण लक्ष्य अनुसारको राजस्व उठन भन्सारलाई मुस्किल भइरहेको बताउँछ ।
महेशपुर भन्सारलाई मुल भन्सारको रुपमा कार्यान्वयनमा ल्याउन कर्मचारी दरबन्दी, आवश्यक जग्गा अधिग्रहण, भौतिक संरचनाहरुको निर्माण, गोदामको निर्माण, पशु तथा प्लान्ट क्वारेन्टाईन चेकपोष्ठको निर्माण र बाटो घाटोको उचित व्यवस्था जस्ता मुख्य कार्यहरु गर्नुपर्ने देखिन्छ तर यसतर्फ अर्थ मन्त्रालयले ध्यान नदिँदा व्यपारीहरु सुविधा खोज्दै जिल्लाकै मुल नाका छोडी भैरहवा भन्सार धाउने कार्यले महेशपुर भन्सार सुक्न थालेको छ ।
यता महेशपुर नाका मुल नाका भए पनि सीमा पारीको नाका ठुठीबारी कस्टम सानो नाका रहेको र ठुठीबारी बजारको बाटो पनि साँगुरो भएकाले मालसामानको निकासी/पैठारी ढिलो हुने र भन्सारमा एक्जिम कोड आवश्य पूर्वाधारको विकास नभएका कारणले पनि व्यापारीहरु यस भन्सारमा आउन झन्झट मान्ने गरेको उद्योगी नगेन्द्र अग्रहरीले बताए ।
एक त कारोबार गर्नको लागि भन्सारले एक्जिम कोडको व्यवस्था नमिलाउने अर्काे तर्फ मालसमानको क्वारेन्टाइन, विषादी परीक्षण, गुणस्तर परीक्षण जस्ता कार्यका लागि भैरहवा नै दौडधुप गर्नुपर्ने कार्यले व्यापारीहरु यो नाका छोडने गरेको पाइन्छ । केही व्यापारीहरुले कारोबार गरे पनि महेशपुर भन्सारको न्युनतम सुविधा र भारतीय बाटो र कस्टमको समस्याले मालसामान झिकाउन २ देखि ३ दिनसम्म लाग्ने गर्दा मालसामानको भाडा पनि बढने र स्थानियहरुको अनावश्यक तनाव पनि बोक्नुपर्ने समस्या परासीका व्यापारी राधेश्याम अग्रहरीले बताए ।
यतातर्फ नत्र जिल्लाका राजनीतिक दलका नेताहरुको ध्यान पुगेको छ नत्र उद्योग वाणिज्य संघ जस्ता व्यापारी संस्थाहरुकै ध्यान पुगेको छ । भन्सारमा यतिबेला खाद्यान्न, भुष, चिनी र केही कस्मेटिक सामानहरुको फाटफुट भन्सार हुँदै आएको छ । कुनै दिन भन्सारमा मालसमान नभएर यतिकै बसेर दिन बिताउनुपर्ने बाध्यता रहेको भन्सारका कर्मचारी बताउँछन् । भन्सारको मातहतमा ४ वटा छोटी भन्सार पनि रहेको छ । जसमध्ये त्रिवेणी र झुल्नीपुर भन्सारबाहेक अरु दुईवटा छोटी भन्सार बन्द नै भइसकेको छ । महेशपुर भन्सार छोटी हुँदा पनि वार्षिक १० करोड राजस्व उठाउँथ्यो तर मुल भए पनि १५ करोड राजस्व उठाउन पनि धौंधौ हुने गरेको छ ।
करिब २ कठामा रहेको उक्त भन्सारलाई ठुलो एरिया अधिग्रहण गर्न गोदाम निर्माण, कर्मचारी भवन, भन्सार जाँचकी कक्ष, काउन्टर, क्वारेन्टाइनहरु जस्ता महत्वपूर्ण कार्य जरुरी रहेको भन्सारले जनाएको छ । भन्सारले चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा कुल १२ करोड १७ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij