
आइतवार , मंसिर १४, २०७७
काठमाडौं, १४ मंसिर । चीनको राज्य परिषद्का सदस्य एवं रक्षा मन्त्री वेइ फेङहे एकदिवसीय कार्यगत भ्रमणका क्रममा आज बिशेष बिमानबाट नेपाल आउँदै छन् ।
द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा सघाउ पुराउने उद्देश्यले एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनियाँ रक्षा मन्त्री वेइ फेङहे काठमाडौँ आउने चिनिया राजदुतावासले जनाएको छ ।
चिनियाँ रक्षा मन्त्रीले कुल ८ घण्टा काठमाडौँ बसाईमा राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
यसैबिच प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चिनीया रक्षा मन्त्रीको आज हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ ।
तत्कालीन रक्षा मन्त्री ईश्वर पोखरेलको निमन्त्रणामा हुन लागेको यो चिनियाँ रक्षा मन्त्रीको भ्रमण शताब्दीऔँ पुरानो समस्यारहित नेपाल चीन सम्बन्धका साथै परिवर्तित वर्तमान सन्दर्भमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij