मंगलवार , आश्विन ६, २०८३
भैरहवा, ६ असोज । पश्चिम नवलपरासीमा जनता समाजवादी पार्टी (जसपा), नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबीच भएको एकता (समायोजन) लाई तत्कालीन लोसपा समूहले एकपक्षीय भएको भन्दै आपत्ति जनाएको छ ।
पाल्हीनन्दन गाउँपालिकाको लौहरौलीमा मंगलबार बसेको साविक लोसपा जिल्ला कार्यसमितिको बैठकले आफूहरुलाई जसपा नेपालले जानकारी नदिइ एकतर्फी रुपमा पार्टी समायोजन घोषणा गरेको भन्दै उक्त कार्य अवैधानिक र गैरकानूनी कार्य भएको जनाएको छ ।
लोसपा जिल्ला अध्यक्ष मुकरजी गिरीले पार्टीको नाम समावेश गरी एकीतर्फी रुपमा गरिएको समायोजन मान्य नभएको भन्दै आपत्ति जनाउनुभयो । उहाँ गैरकानूनी रुपमा नामको एकता तत्का खारेज गर्न पार्टीका संरक्षक महन्थ ठाकुरलाई आग्रह गर्ने निर्णय गरिएको बताउनुभयो ।
सोमबार रामग्राम नगरपालिकाको बैरिहवामा आयोजित समायोजन समारोहबाट धरेन्द्र यादवको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरिएको थियो । बैठकले उक्त गैरकानूनी समायोजन गराउने कार्यमा संलग्न रहेको भन्दै पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य पुरन चौधरीलाई कारवाहीकोसमेत माग गरेको छ ।
लोसपाका केन्द्रीय उपमहासचिव रहनुभएका चौधरी पार्टी समायोजनपछि जसपा नेपालको केन्द्रीय कार्यकारिणी सदस्य बन्नुभएको थियो । चौधरी पर्यवेक्षकको रुपमा सहभागी भइ आफूले प्रतिनिधित्व गरेको लोसपा समूहसँग समन्वय नै नगरी पार्टी समायोजन घोषणामा सहभागी भएको अध्यक्ष गिरीको दावी छ ।
चौधरीसमेत संलग्न उक्त कार्यबाट संगठन कमजोर बनाउन खोजिएकोले चौधरीलाई पार्टीको जिम्मेवारीबाट तत्काल निलम्बन गर्न संरक्षक ठाकुरको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij