२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

कांग्रेस नेता पौडेल प्रहरी नियन्त्रणमा

बुधवार , मंसिर १७, २०७७

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • काठमाडौं, १७ मंसिर । 
    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।

    पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी सामाजिक संजाल फेसबुकमा लेखेका छन् । संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थानीय नेता कार्यकर्ताले विरोध जनाएका थिए ।

    बुधबार पौडेलले पुल उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण धेरै मानिस भेला हुनु उपयुक्त नहुने भन्दै पुल उद्घाटन स्थगित गर्न अनुरोध गरेको थियो । र सो क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको थियो ।

    बुधबार पौडेल पुल उद्घाटन गर्न कांग्रेस कार्यकर्ताको ठूलो समूहसहित पुगेका थिए । तर प्रहरीले निषेधाज्ञा लगाइएको भन्दै पौडेललाई नियन्त्रणमा लिएको हो । निषेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाले जानकारी दिए ।