
मंगलवार , माघ २०, २०७७
भैरहवा, २० माघ ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले सिमसार क्षेत्र संरक्षणको बारेमा विशेष योजना बनाएर अगाडी बढ्ने बताएका छन् । उनले लुम्बिनी र योसंग जोडिएका सबै विषयवस्तुमा आफु जोडिन चाहेको बताए ।
विश्व सिमसार दिवस–२०२१ को अवसर पारेर लुम्बिनी विकास कोषले मंगलबार लुम्बिनीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले सिमसार क्षेत्रको संरक्षण गर्न नसके जमिनमुनीको पानी सुकेर वातावरण र जैविक विविधता नै संकटमा पर्ने भएकाले सिमसार क्षेत्रको संरक्षणलाई अभियानका रुपमा अघि बढाउनुपर्ने बताए । उनले प्रदेश सरकारले स्थानीय तहसंगको सहकार्यमा एक गाउँ एक पोखरी अभियान र प्लाष्टिक तथा फोहोरमैला व्यवस्थापनका लागि प्रशोधन परियोजनाको काम अघि बढाएको बताए । उनले पृथ्वीको संरक्षण गर्नुपर्छ भन्ने कुरामा दुईमत नरहेको बताए । ‘यो पृथ्वीलाई धेरै दोहन गरिएको छ, अब पृथ्वीको संरक्षणबारे सचेत हुनुपर्छ, ’मन्त्री गिरीले भने ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले सिमसार क्षेत्रको संरक्षण गर्नुपर्ने बताए । उनले पृथ्वीको संरक्षण गर्न नसके पृथ्वीमा बाँच्न नै ग्राहो हुने अवस्थाको सिर्जना हुन सक्ने बताए ।
लुम्बिनी विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले सिमसार क्षेत्रको महत्वको बारेमा विश्वले अनुभुति गर्न थालेको बताए । उनले प्रकृतिलाई बचाउनुपर्ने बताए ।
नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक फखरुद्दीन खानले जैविक विविधताले भरीपूर्ण तथा शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको सिमसार क्षेत्रको संरक्षण आवश्यक रहेको बताए । उनले लुम्बिनी विकास कोष क्षेत्रफल बाहिर रहेका प्रकृतिका नविनतम कुराहरु पनि देखाएर पर्यटकहरुको बसाइ लम्ब्याउनुपर्ने बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले नगरपालिकाले सारसलाई नगरपंक्षी घोषणा गरेको बताए । उनले सारसलाई बचाउन विद्युतीय तारहरुको व्यवस्थापन गर्नुपर्ने बताए । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का नेपाल निर्देशक डा. घनश्याम गुरुङले पानी बिनाको जीवन सम्भव नरहेको बताए ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले अहिले किसानहरु स्वयं सारसको संरक्षणमा लागेको बताए । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै लुम्बिनीको उत्तरतर्फ हाल एकदर्जन संख्यामा रहेका ताललाई संरक्षण गरी पर्यटक आकर्षित गर्न वातावरण संरक्षणको क्षेत्रमा योगदान पु¥याएका ७ जना संरक्षणकर्मीहरुको नाममा सिमसार ब्लकहरुको नामाकरण थालनी गरिएको छ ।
मंगलबार जर्ज आर्किबल्ड, डा. हर्क गुरुङ, चन्द्र गुरुङ, मिङमा नोर्बु शेर्पा, हरिशरण नेपाली (काजी), डा. तिर्थमान मास्के र विश्व वन्यजन्तु कोषका नेपाल निर्देशक घनश्याम गुरुङको नाममा ७ वटा सिमसार क्षेत्र नामाकरण र उद्घाटन गरिएको छ ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी लुम्बिनीविकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, सदस्य सचिव सानुराजा शाक्यले सात वटा सिमसार ब्लक उद्घाटन गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij