२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ओझेलमा रामग्राम स्तुप, विकासको लागि ठोस पहल भएन

बिहिवार , फाल्गुण ६, २०७७

परासी, ६ फागुन । 
विश्व सम्पदा सुचीमा परेको एतिहासिक पुरातात्विक एवं धार्मिकस्थल रामग्राम स्तुप तीन तहको सरकार भए पनि अझै पनि ओझेलमा परिरहेको छ । स्तुपको विकास र प्रवद्र्धनका लागि कुनै तहबाट ठोस पहल नभएको पाइएको छ । शान्तिका अग्रदुत गौतम बुद्धको अष्तिधातु रहेको रामग्राम स्तुपको विकासका लागि सरकारले लुम्बिनी विकास कोषलाई जिम्मा दिएको छ तर यसप्रति लुम्बिनी विकास कोषको खासै चासो देखाउन सकेको छैन ।

रामग्राम स्तुप पश्चिम नवलपरासी रामग्राम नगरपालिका–७ उजैनीमा अवस्थित छ । एतिहासिक स्तुप क्षेत्रको विकासका लागि सरकारले वर्षेनी करोडौ रुपैयाँ लुम्बिनी विकास कोष पठाए पनि कोषले गुरुयोजना तथा ठोस कार्य योजना नबनाएको भन्दै सो क्षेत्रमा खासै लगानी गरेको पाइँदैन ।

स्तुपलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लामो समयदेखि लुम्बिनी विकास कोषले चासो नदेखाएका कारण यसका लागि छुट्टै रामग्राम विकास कोषको स्थापना हुनुपर्ने रामग्राम पर्यटन प्रवद्र्धन विकास संस्थाका अध्यक्ष शम्भु प्रसाद उपाध्यायले माग गरे । उनले यसको विकासका लागि लुम्बिनी विकास कोष नै बाधक रहेको र कुनै तहको सरकारले खासै ध्यान नदिएको आरोप लगाए ।

यस्तो छ स्तुपको महत्व

रामग्राम स्तुपमा शान्तिका अग्रदुत गौतमबुद्धको आठ ठाउँमा राखिएको अष्तिधातुमध्ये विश्वमै एक मात्र सुरक्षित स्थान हो । प्राचिन कोलिय राजाले बुद्धको अस्तु ल्याएर कोलिय गणराज्यको राजधानी रामग्राममा राखी स्तुप निर्माण गरेको इतिहास छ । रामग्राम स्तुप इसापुर्व ५ सय वर्ष पुरानो अर्थात आजदेखि पच्चिस सय वर्ष पहिला कोलिय राजाद्धारा निर्मित स्तुप हो । शान्तिका अग्रदुत बुद्धको महापरिनिर्वाण पछि अन्त्येष्टि भयो र अन्त्येष्टिपछि बचेको अस्थि (अवशेष) ल्याएर अस्तु कलशमा राखेर बनाइएको यो स्तुप हो । कोलिय गणराज्यको राजधानीलाई रामग्राम पनि भनिन्थ्यो र रामग्रामका राजाले स्तुप बनाएका कारण यस्को नाम रामग्राम स्तुप भनिएको हो । रामग्राम स्तुपको खोजी गर्दा कोलिय राजधानी रामग्राम देखी चार माईल पुर्व र दक्षिण दिशामा रहेको भन्दै चिनियायात्रीको वर्णनको आधारमा रामग्राम स्तुप भेटिएको थियो ।

स्तुपको महत्वबारे बौद्धधर्म ग्रन्थ त्रिपिटक मा पनि उल्लेख छ । बौद्ध स्तुप अन्य स्थानमा पनि छ, तर रामग्राम स्तुप बुद्धको परिनिर्वाण पश्चात विभिन्न राजाले बनाएका विभिन्न आठ स्तुपमध्ये सिंगो अस्तु भाग रहेको स्तुप हो । बाँकी ७ वटा स्तुपको उत्खनन गराइ तत्कालिन मगध सम्राट अशोक मौर्यले ती अस्थिलाई विभिन्न देशमा पुर्याउँदै ८४ हजार स्थानमा बाडेर स्तुप बनाउन लगाएका थिए, तर रामग्राम स्तुपको उत्खनन उनले स्तुपको सुरक्षार्थ नागजातीको आग्रहमा उत्खनन नगराई दिदा सिंगो भाग बचेको छ । त्यही भएर रामग्राम स्तुप संसारको एक मात्र सिंगो भाग अस्तु रहेको स्तुप बचेको छ । त्यतिबेला बुद्धका अनुयायीहरुले शान्ति प्राप्तका लागि यस रामग्राम स्तुपको पुजाआजा गर्ने उद्देश्यले यो रामग्राम स्तुपको निर्माण गरिएको स्थानीय जानकार बेचु गौडले जानकारी दिए ।

एक बगैचामा माटोको एक ठुलो ढिस्कोले चिनिने रामग्राम स्तुपमा कुनै प्रकारको भौतिक पुर्वाधार निर्माण, संरक्षण तथा प्रचार प्रसारको कार्यहरु गरिएको पाइएको छैन । बौद्ध धर्मका अनुसार अतिनै महत्व बोकेको यस रामग्राम स्तुपको पुजा तथा भ्रमण अवलोकन गर्ने विभिन्न देशका वार्षिक १० हजार बढी बाह्य पर्यटकहरु आउने गर्दछन् तर यहाँ लज होटेल, खानेपानी, पार्क र प्राथना गर्ने लगायतका विभिन्न भौतिक संरचनाको अभावले पर्यटकहरु उत्तिखेरै फर्किने गरेका छन् । विश्व सम्पदा सुचीमा समेत परिसकेको यस रामग्राम स्तुप क्षेत्रको विकासका लागि सरकारले ठुलो बजेट बिनियोजन गरि लुम्बिीनी विकास कोषलाई जिम्मा लगाउँदै आएको छ तर कोषले उक्त रकम नखर्चिकनै फ्रिज गराउने काम निरन्तर सरोकारवालाहरु आरोप लगाउँछन् ।

रामग्राम स्तुपा पुरातात्विक क्षेत्र भएकाले आफनो गुरुयोजना तथा अनुकुलमा लगानी गर्न नसकिरहेको रामग्राम नगरपालिकाले जनाएको छ । रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले स्तुप क्षेत्रमा पर्यटक तथा भिक्षु विश्राम र कर्मचारी बस्ने विश्राम गृह निर्माण गरिरहेको बताए । उनले, स्तुपको वरपरका गाउँ उजैनीलाई नमुना गाउँ बनाउन बाटोघाटो, वृक्षारोपण, सुन्दरीकरण लगायतका विभिन्न पूर्वाधारको कार्यहरु भइरहेको बताए । उनले स्तुपको विकासका लागि नियमित सम्बन्धित निकायको ध्यानकर्षण गराइरहेको र नगरपालिका आफनो स्तरबाट स्तुपको व्यापक प्रचारप्रसार, संरक्षण सम्बद्र्धन र प्रवद्र्धन जस्ता कार्यहरु गर्दै आएको जानकारी दिए ।

यता लुम्बिनी विकास कोषले रामग्राम स्तुपको वृहद विकास गर्न गुरु योजना बनिसकेको बताएको छ । सो क्षेत्रमा कति जग्गा अधिग्रहण गरिने भन्ने विषयमा छलफल भइरहेको र यो जग्गाको विषय टुंगिन साथ गुरुयोजना अनुसारको कार्यमा तीव्रता दिइने कोषले जनाएको छ । कोषले, उक्त क्षेत्रमा आवश्यक जग्गा अधिग्रहण गरिने, स्तुपको उत्खनन गर्ने, गुम्बाहरु बनाउने, विश्राम गृह बनाउने, खानेपानी, शौचालय, पार्क बनाउने र मुर्तिहरु स्थापना लगायतका कामहरुलाई प्राथमिकतामा राखी अगाडी बढने बताएको छ । अहिलेसम्म स्तुपमा पर्यटक बस्नका लागि कुर्ची राखिएको छ । र भिक्षुहरुलाई स्तुपको परिक्रमा र प्रार्थना गर्न स्तुपको वरपर काठको पिभमेन्ट बनाएको छ ।

रामग्राम स्तुपमा चीन, थाइल्याण्ड, भेतनाम, जापान, श्रीलंका, कोरिया लगायतका ठाउँबाट मासिक करिब ५ सय पर्यटकहरु आउने गर्दछन् । गौतमबुद्धसंग सम्बन्धित स्थल बुद्धको जन्मस्थल लुम्बिनी, पण्डितपुर, अस्तुधातु भएको रामग्राम स्तुप, तिलौराकोट, देवदह लगायतका धार्मिक स्थलहरु छन् जसमध्ये लुम्बिनीको मात्र विकास भएको अरु सबै ठाउँहरु कोषको लापरवाहीले ओझेलमा परेको छ ।