२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल लगानीका लागि उपयुक्त गन्तव्य : प्रधानमन्त्री दाहाल

आइतवार , बैशाख १६, २०८१

काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएकाले लगानीका लागि आह्वान गरेका छन् ।

आइतबार काठमाडौंमा नेपाल लगानी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् ।

नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उनले बताए ।

उनले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानून परिमार्जन गरेको जानकारी गराए ।  प्रधानमन्त्री प्रचण्डले सङ्घीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे ।

नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको भन्दै उनले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरे ।

उनले नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधारलगायत उच्च मूल्यका बाली उत्पादन जस्ता क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको बताए 

त्यस्तै उनले वैदेशिक लगानीमा सञ्चालन भएका विभिन्न कम्पनीको हकमा नेपालमा लगानी नाफामुखी रहेको उल्लेख गरे ।

कार्यक्रममा अर्थमन्त्री बर्षमान पुनले व्यवसायिक वातावरण  सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले विभिन्न नीतिगत सुधार गरेको जानकारी दिए ।

अर्थमन्त्री पुनले सम्मेलनका क्रममा सरकार र लागानीकर्ता,  स्वदेशी निजी क्षेत्र र विदेशी निजी क्षेत्रबीच विभिन्न सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिइएको बताए ।

अर्थमन्त्री पुनले नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषिमा आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् ।

उनले सरकार निजी क्षेत्रसँग निजी प्रत्यक्ष लगानीका साथै सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्न प्रतिबद्ध रहेको जिकिर गरे ।

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा लगानीका लागि  एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन् भने ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ता सहभागी छन् ।