२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवलमा दोस्रो केबलकार शिलान्यास

रुपन्देही विकास सिक्ने पाठशाला : विष्णु पौडेल

आइतवार , फाल्गुण ९, २०७७

बुटवल, ९ फागुन ।
रुपन्देहीमा आइतबार अर्को बुटवलमा दोस्रो केबलकारको शिलान्यास गरिएको छ । फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको चिडियाखोलादेखि पूर्वी पाल्पाको बसन्तपुरसम्म जोड्ने लुम्बिनी केबलकारको शिलान्यास गरेकोमा आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलको अर्को आयोजना सिद्धार्थ केबलकारको शिलान्यास गरेका छन् ।

बुटवलमा आधार (बेस) स्टेशन रहेका यी दुवै केबलकारको अन्तिम स्टेशन भने पाल्पामा रहनेछन् । बुटवलदेखि उत्तरपूर्व वसन्तपुर जोड्ने केबलकारको निर्माण लुम्बिनी केबलकार प्रा.लि.ले सुरू गरेको छ भने बुटवलदेखि उत्तरपश्चिम नुवाकोट जोड्ने केबलकार सिद्धबाबा केबलकार प्रा.लि.ले बनाउँदैछ ।

सिद्धार्थ केबलकारको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले रुपन्देहीलाई विकासका हिसाबले मुलुककै नमूना जिल्ला बनाइने र त्यसको लागि आर्थिक क्षेत्रबाट कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे । विकासका काममा तीव्र गतिमा अगाडि बढेको रुपन्देहीका लागि केबलकार परियोजना रोलमोडल हुने उनको भनाइ छ । 

सरकारी क्षेत्रबाट निर्माण गरिएको परियोजनासँगै निजी क्षेत्रको लगानीमा निर्माण हुने यस्ता आयोजना राष्ट्रका गौरव रहेको उल्लेख गर्दै उनले यी आयोजना समयमा सम्पन्न गर्न सरकारी क्षेत्रबाट पर्याप्त सहयोग रहने बताए । पौडेलले पछिल्लो तीस वर्षमा रुपन्देहीमा भएका विकास प्रयासलाई अध्ययन गर्नुपर्ने बताए ।

‘०४७ साल अगाडि हामी कहाँ थियौ, आज कहाँ छौं ? विश्लेषण गरौं, क्रमिक रूपले हेरौं, रुपन्देही जिल्लाले विकासको रोल मोडलको भूमिका खेल्दैछ,’ पौडेलले भने । पौडेलले रुपन्देही विकास सिक्ने पाठशाला बनेको भन्दै आउने दिनमा अझै गतिशील बनाउन आग्रह गरे ।

बुटवलको विकासको योजनाकारका रूपमा रहेका लुम्बिनी प्रदेशसभाका सदस्य तथा बुटवलका पूर्वमेयर भोज प्रसाद श्रेष्ठले शिलान्यास भइरहेका र निर्माण भइरहेका आयोजना प्रदेशको राजधानी बन्न नसकेको बुटवलको लागि क्षतिपूर्ति र बुटवललाई केन्द्र बनाउने आफूहरूको योजना पूरा गर्ने महत्वपूर्ण आधार भएको बताए । उनले सिद्धार्थ केबलकारले ऐतिहासिक नुवाकोट गढीलाई हिल स्टेशनको रूपमा विकास गर्न सघाउने र गत साता शिलान्यास भएको लुम्बिनी केबलकारले उचाइमा रहेको बसन्तपुरलाई पर्यटकीय गन्तव्य बनाउने बताए ।  ‘यी दुवै आयोजना बुटवल र रुपन्देहीको लागि मात्र नभएर लुम्बिनी प्रदेशकै लागि ड्रिम प्रोजेक्टको रूपमा रहेका छन्,’ श्रेष्ठले भने ।

नुवाकोटमा केबलकार लैजाने योजना २०५५ सालमै आफू बुटवलको मेयर भएका बेला बुटवलको भिजनरी प्रोजेक्टको रूपमा अगाडि सारिएको भए पनि सरकारी संयोजन नमिल्दा त्यतिकै रोकिएकोमा अहिले अगाडि बढाइएको श्रेष्ठले बताए ।
सिद्धबाबा केबलकार प्रा.लि.मा रुपन्देहीका उद्योगी तथा पर्यटन व्यवसायी गरी करिब १ सय जनाको ८० करोड बढी लगानी छ । प्रा.लि.का अध्यक्ष राजेन्द्रसिंह गुरुङले बुटवल तथा यस आसपासका व्यवसायीको लगानी रहेको यो परियोजना १८ महिनाभित्र पूरा गर्ने लक्ष्य रहेको बताए ।
सरकारले परियोजना भित्र पर्ने ६.०९८ हेक्टर वन क्षेत्र ३० वर्षको लागि भोगाधिकारको स्वीकृति दिएको छ । १.९४ किलोमिटर लम्बाइको केबुलकारको लागि ८० करोड २५ लाख लागत अनुमान गरिएको गुरुङले जानकारी दिए ।
यो केवलकारमा २५ वटा गण्डोला हुने र दैनिक ५ हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने उनले बताए । केबलकारको

एकतर्फी यात्रा ८ मिनेटको हुनेछ । यो समूहले केवलकार संगै नुवाकोटमा अत्याधुनिक रिसोर्ट निर्माण गरिरहेको छ भने बसपार्क, चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र, ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयले निर्माण गर्ने शान्ति पार्क, गुम्बा, भ्यू टावर, स्वास्थ्य केन्द्र लगायतका संरचना पनि बनाउने छ । 

महत्वकांक्षी योजनाका साथ सुरू भएको केवलकार सञ्चालन भएपछि लुम्बिनी आउने आन्तरिक एवं बाह्य पर्यटकलाई नुवाकोटसम्म ल्याउन सकिने प्रा.लि.को विश्वास छ ।

पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका गोरखपुर, लखनउ, बनारस र बिहारका विभिन्न स्थानका समेत गरी करिब ८ करोड जनसंख्या लक्षित क्षेत्र रहेको र त्यसमध्ये १० प्रतिशत मात्रले पनि केवलकार चढेमा ८० लाख पुग्ने प्रालिको दावी छ ।

नुवाकोटगढी पुग्न बुटवल बेलबास शान्तिचोकदेखि ११ किलोमिटर सडक निर्माण गरिएको छ । बेलबासदेखि नुवाकोट हुँदै झुम्सा निस्किने उक्त सडकलाई सिद्धबाबा झुम्सा सडकको वैकल्पिक मार्गका रूपमा समेत विकास गर्ने योजना रहेको छ । त्यस्तै फूलबारीबाट नुवाकोटसम्म उजिरसिंह सिँढीमार्ग पनि निर्माण गरिएको छ । सिँढीमार्गबाट दुई घन्टा पैदलयात्रामा नुवाकोट पुग्न सकिन्छ ।

नुवाकोट विकास समितिका अध्यक्ष समेत रहेका होटल व्यवसायी माधव नेपालले नुवाकोटमा बन्दै गरेको संरचनाले यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो टेवा पुग्ने बताए ।  नुवाकोटमा जितगढी युद्धको झल्को दिने गरी कुनै पनि कला देखाउन सके पर्यटकको आकर्षण बढ्न सक्ने नेपालको अपेक्षा छ ।