२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्वस्थ जीवनशैली प्रर्बद्धन गर्न योजना कार्यान्वयनमा जुट्नुस : मुख्यमन्त्री आचार्य

सोमवार , आश्विन १४, २०८१

दाङ, १४ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न जनस्वास्थ्यमा देखिएका समस्या समाधानका लागि योजना निर्माण गरेर कार्यान्वयनमा जुट्न निर्देशन दिएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आर्थिक वर्ष २०८०÷०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय समीक्षा कार्यक्रमलाई सोमबार दाङको लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले निर्देशन दिएका हुन् ।

उनले प्रदेशको प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परेको मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण, रक्तअल्पता जस्ता समस्या न्यूनीकरण गर्न ठोस कार्यक्रम बनाएर कार्यान्वयनमा जुट्न निर्देशन दिएका हुन् । ‘विशेष योजना बनाएर समस्या न्यूनीकरणमा लाग्नुस् । कार्यक्रम बनाउनुस्, बढी भन्दा बढी जनचेतना अभिवृद्धिमा केन्द्रित गर्नुस्’मुख्यमन्त्री आचार्यले भने,‘अर्काे वर्ष मातृ मृत्युदर घटेको हुनुपर्छ, कुपोषणको दर पनि घटेको हुनुपर्छ । बाल मृत्युदर पनि घटेको हुनुपर्छ । पुरानै तथ्यांकको समीक्षा गर्ने होइन, उपलब्धि कसरी हासिल गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्ने छ ।’

बिरामी तथा तीनका परिवारबाट गुनासो नआउने गरी सन्तुष्ट हुने गरी उपचार सेवालाई प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यले निर्देशन दिए ।सरकारी स्वास्थ्य संस्था तथा अस्पतालको सेवामा सर्वसाधारण नागरिकको सहज पहुँच बढाउन कार्यक्रम बनाउन उनले जोड दिए । ‘पैसा नहुँदा बाँचिन्छ, सरकारले बचाउँछ भन्ने नागरिकमा विश्वास दिलाउनुपर्ने छ’उनले भने,‘यसका लागी बीमा कार्यक्रम ल्याइएको हो । स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन जरुरी छ । बीमाबाट उपचार गर्दा दोस्रो दर्ताको नागरिक सरहको व्यवहार गरिएको गुनासोहरु आएका छन् । यसलाई सुधार्न जरुरी छ ।’ 

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यले निर्देशन दिए । अस्पतालमा थन्किएका स्वास्थ्य उपचारकरण बनाउनुपर्ने, सरकारी अस्पतालमा काम गर्ने तर, निजी स्वास्थ्य संस्थामा मोह राख्ने जस्ता प्रवृत्ति त्याग्न स्वास्थ्यकर्मीलाई उनले आग्रह गरे । स्वास्थ्यतर्फ देखिएको जनशक्तिको अभाव अन्त्यका लागि प्रदेश सरकारले ओएनएम सर्भे गरेको र त्यो रिपोर्टको आधारमा व्यवस्थापनको काम अघि बढ्ने उनको भनाइ छ । 

त्यस्तै स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य क्षेत्रलाई सुधार गर्न मन्त्रालयले योजनाबद्ध काम गरिरहेको र त्यसबाट उपलब्धि देखिने अवस्थामा पुर्याइएको बताए । उनले स्वास्थ्य सेवालाई सेवाग्राहीमैत्री बनाउने गरी काम भइरहेको जानकारी दिए । ‘स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउँछौं । यसका लागि सरकारी स्वास्थ्य संस्था तथा अस्पतालको सेवालाई विशेषज्ञ सेवाको रुपमा अघि बढाएका छौं’उनले भने,‘स्वास्थ्य क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरुलाई सम्बोधन गर्ने गरी योजना बनाएर अघि बढेका छौं ।’ 

स्वास्थ्य सचिव डा.बासुदेव उपाध्यायले स्वास्थ्य सेवा सुधार गर्न कार्यक्रम कार्यान्वयन गर्ने पद्वतिमा सुधार गर्न सकिन्छ भने त्यसबारेमा पनि समीक्षा गर्नुपर्ने बताए । स्वस्थ जीवनशैली अपनाउँदै निरोगी प्रदेश बनाउनका लागि कार्यक्रम केन्द्रित गरिएको उनले जानकारी दिए । 

समीक्षा कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु समेत सहभागीता छ । गाउँपालिका महासंघका अध्यक्ष विष्णुकुमार गिरीले पालिका तहका आधारभूत अस्पतालहरु जनशक्ति र उपकरणको अभावमा सञ्चालनमा आउन नसकेको भन्दै प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि पहल लिनुपर्ने बताए । 

स्वास्थ्य निर्देशक डा.विनोद कुमार गिरीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण कौशल भण्डारीले गरेका थिए ।