२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्थानीयकै अग्रसरतामा सगहरवामा बनेका मूर्तीहरुको संरक्षण गर्न आग्रह

आइतवार , माघ १३, २०८१

लुम्बिनी,१४ माघ । शाक्यहरुको सामूहिक बध गरिएको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय स्थल सगहरवामा गत वर्ष मूर्तिकला कार्यशालाबाट तयार भएका मूर्तिहरुको व्यवस्थापन गरी पार्कका रुपमा विकास गर्न स्थानीयहरुले अग्रसरता लिनुपर्नेमा जोड दिइएको छ । 

लुम्बिनी विकास कोषले आइतबार सगरहवामा निर्माण गरिएका मूर्तिहरुको संरक्षणका सन्दर्भमा स्थानीय र सरोकारवालाहरुसँग गरिएको छलफल कार्यक्रममा स्थानीयहरुकै अग्रसरतामा मात्रै सम्पदा स्थल संरक्षण हुने भएकाले अगुवाइ गर्न आग्रह गरिएको हो । गत वर्ष लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिकासहितका विभिन्न संघ–संस्थाको समेत सहकार्यमा कपिलवस्तु राष्ट्रिय मूर्ति कार्यशाला गरी सगरहवाको ऐतिहासिकता प्रस्तरमा उतारिएको छ । 

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले ओझेलमा रहेको सगरहवामा बनेका मूर्तिहरुलाई आर्कषक पार्कका रुपमा विकास गर्न सके यसबाट स्थानीयले धेरै लाभ लिन सक्ने बताए । लुम्बिनी आउने पर्यटकहरुको बसाई अवधि अत्यन्तै छोटो भएकोमा सगरहवामा निर्माण गरिएको मूर्तीले पर्यटकको बसाई लम्ब्याउने विश्वास व्यक्त गरे । जगदीशपुर तालको छेउमा रहेको सगरहवाले नै कपिलवस्तुको पर्यटनलाई उठाउने उनले बताए ।  

सांसद् पन्थीले पर्यटकहरुको लुम्बिनी विकास कोष, स्थानीय सरकारसँगै स्थानीय बासिन्दाहरुको समेत सहभागीता हुने गरी पार्कको मोडेल बनाउन आफू जनप्रतिनिधिका रुपमा सहयोग गर्न तयार रहेको बताए । उनले प्रदेश सरकारकातर्फबाट बजेटका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई(सिद्धिचरण) ले सगरहवामा बनेको मूर्तिहरु स्थानीयहरुको सम्पत्ति रहेको बताउँदै यसको संरक्षण स्थानीयकै अग्रसरतामा मात्रै सम्भव हुने बताए । उनले कुनै पनि सम्पदाको संरक्षण स्थानीयहरुले नै गर्न सक्ने भएकाले बनेका मूर्तिहरुलाई सजाएर सुन्दर पार्कका रुपमा विकास गर्नका लागि स्थानीय सरकार र स्थानीय बासिन्दाहरुलाई नै अगुवाइ गर्न आग्रह गरे । 

कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तु नगरपालिका र सगरहवाका स्थानीयहरुलाई मूर्तिहरुको संरक्षणका लागि स्पष्ट योजना ल्याउन आग्रह गरे । उनले कोषसँग बजेट नभएकाले प्रदेश र स्थानीय सरकारलाई पार्ककको व्यवस्थापनका लागि बजेट छुट्याउन समेत ध्यानार्कषण गराए । 

अन्तरक्रिया कार्यक्रममा स्थानीय अगुवाहरु ललित बहादुर गुरुङ, देवेन्द्र पोखरेल, हिरालाल पौडेल, डा. अब्दुल रसिद खाँलगायतले बोल्दै मूर्तिको संरक्षणका लागि कोषले उचित वातावरण मिलाउनुपर्नेमा जोड दिए। त्यस्तै उनीहरुले मूर्तिस्थलसम्म जाने सडकको व्यवस्थापनका लागि समेत कोषको ध्यानार्कषण गराएका थिए । साथै सोही अवसरमा गत वर्ष सञ्चालित कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशालाका गतिविधि समेटिएको सगरहवा स्मारिकाको समेत विमोचन गरिएको थियो । 

कोषका कार्यकारिणी सदस्य रामनरेश प्रसाद कोहारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कपिलबस्तु कार्यालयका प्रमुख माधव आचार्यले गरेका थिए । शाक्यमुनी बुद्धको जीवनको उतार्धतिर कोशल राज्यका राजा विडूडभले आफू बाबु प्रसनजीतलाई झुक्याएर शाक्यपुत्री भनी दासीपुत्रीसँग विवाह गरिदिएको र प्रतिशोधवश कपिलवस्तु राज्यका हजारौं शाक्यहरुको सामूहिक बध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ ।

सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौं स्तुुपहरूको निर्माण गरेको चिनियाँ यात्री हुुयन् सांगो सन् ६३६ को यात्रा वृतान्तमा उल्लेख गरिएको पाइन्छ  ।