
शुक्रवार , फाल्गुण १६, २०८१
अर्घाखाँची, १६ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको बताएका छन् । सुपा देउराली मन्दिर संरक्षण समितिको १३ औं साधारण सभाको शुक्रबार उद्घाटन गर्दै उनले धार्मिक पर्यटन प्रवर्द्धनका लागि डिजिटल प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए ।
‘अर्घाखाँची धार्मिक, साँस्कृतिक र पर्यटनको दृष्टिकोणले अपार सम्भावना बोकेको जिल्ला हो । यहाँ पाणिनी तपोभूमि, अर्घा दरबार, मालारानी, बलकोट पौवा, सिद्धेश्वर मन्दिर जस्ता ऐतिहासिक तथा धार्मिकस्थलहरू छन् । सुपा देउराली मन्दिरमा वार्षिक लाखौं भक्तजन आउने गरेका छन्, व्यवस्थित प्रचारप्रसार गर्न सकियो भने धार्मिक पर्यटन अझ विस्तार गर्न सकिन्छ’मुख्यमन्त्री आचार्यले भने,‘धार्मिक पर्यटकहरु आकर्षित हुँदै गएको पाएका छौं । थप व्यवस्थित गरेर अघि बढ्न जरुरी छ ।’
उनले डिजिटल युगमा धार्मिक पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारलाई प्रविधिसँग जोड्न आवश्यक रहेको उल्लेख गरे । ‘हामीले सुपा देउरालीका गतिविधि तथा प्रगतिलाई दैनिक रूपमा सार्वजनिक गर्नुपर्छ । एउटा डिजिटल पेज बनाएर हरेक दिनको विवरण अद्यावधिक गर्ने प्रणाली विकसित गरिनुपर्छ,’उनले भने–‘देश तथा विदेशमा अर्घाखाँचीलाई चिनाउन र पर्यटक भित्र्याउन मद्दत पुग्छ ।’
मुख्यमन्त्री आचार्यले सुपा देउराली मन्दिरलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै सफाई, सुरक्षा र व्यवस्थापनमा सुधार गर्न निर्देशन दिए । उनले सफाई कर्मचारीको व्यवस्था गर्न, भेटी संकलनको पारदर्शी उपयोग गर्न र मन्दिरको गुरुयोजना निर्माण गरी अगाडि बढ्नुपर्ने धारणा राखे । ‘संकलित भेटी मन्दिरको सौन्दर्यकरणमा खर्च गर्नुपर्छ’उनले भने,‘ठूला निर्माणका नाममा बजेट छरपष्ट गर्नुहुँदैन । पूर्वाधार निर्माणको जिम्मेवारी सरकारले लिन्छ, समितिले गुरुयोजनाका आधारमा काम गर्नुपर्छ ।’
मुख्यमन्त्री आचार्यले अर्घाखाँचीको धार्मिक पर्यटनलाई थप प्रवद्र्धन गर्नुपर्ने बताउँदै पाणिनी सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए । ‘देशभित्र र बाहिरका धर्मगुरुलाई यहाँ ल्याएर पाणिनि सम्मेलन गर्दै छौं’उनले भने,‘पतञ्जलि ऋषि यही पवित्र भूमिमा जन्मनुभएको हो, यसको प्रचारप्रसार पनि सन्तोषजनक रूपमा हुन सकेको छैन । यसलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ ।
मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटकहरूको आगमन बढाउने हो भने योजनाबद्ध रूपमा काम गर्न आवश्यक रहेको बताउँदै व्यवस्थित प्रचारप्रसार गर्न सके वर्षको १५–२० करोड रुपैयाँ आम्दानी गर्न धारणा राखे । गुरुयोजनाले तोकेको निर्माण कार्य गर्न अब अरू कसैको मुख ताक्नुपर्ने अवस्था नरहने भन्दै धार्मिक पर्यटनको दीर्घकालीन सम्भावनामा जोड दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेल लगायतले धारणा राखेका थिए । समितिका अध्यक्ष फर्सबहादुर खत्रीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण हरि खनालले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij