
बिहिवार , फाल्गुण २९, २०८१
भैरहवा, २९ फागुन । लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार (सन्तु) ले समाजसेवाबाट कमाएको प्रतिष्ठा पैसाले कमाउन नसकिने बताएका छन् । उनले अर्बपति, खर्बपति मात्र भएर त्यसको अर्थ नहुने बताए । जयसवाल सेवा समिति सिद्धार्थनगर–६, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको २९ औं होली मिलन समारोहमा मन्त्री कलवारले यस्तो बताएका हुन् ।
‘पैसा जीवनमा जरुरी छ । तर, समाजको सेवा गरेर कमाइएको प्रतिष्ठा/सम्मान पैसाले कमाउन सकिदैन, ’उनले भने । उनले उद्योगी–व्यवसायीले अरुलाई नेता बनाए जस्तै अब आफू पनि नेता बन्नुपर्ने बताए । ‘तपाईहरुले अरुलाई सहयोग गर्नुहुन्छ, मतदान गरेर अरुलाई नेता बनाउनुहुन्छ । तपाईहरु अब आफू पनि नेता बन्नुपर्छ ।’
उनले उद्योगी–व्यवसायी र आम नागरिकले तिरेको करबाट नै राज्य सञ्चालन हुने भएकाले तिरेको करको सरकारले सम्मान गर्नुपर्नेमा जोड दिए । उनले उद्योगी–व्यवसायीलाई प्रदेश सरकारले सम्मान गर्ने बताए ।
संविधान सभा सदस्य समेत रहेका कलवारले मन्त्री बने पनि र नबने पनि र पदमा रहदा वा नरहदा रुपन्देहीमा आफूलाई हरेक वर्ष सम्मान गरिएको बताए । ‘तपाईहरुको माया, स्नेह र पार्टीको मूल्यांकनले यो ठाउँमा पुगे । जयसवाल परिवारप्रतिको माया, स्नेह र ममताका कारणले आज हामी यहाँ होली मिलन समारोहमा उपस्थित भएका छौं । भारतबाट पनि धेरै मित्रहरु यहाँ आउनुभएको छ । मिलन शब्द नै यस्तै हो कि सारा दुःख–पीडा पनि भुलिन्छ, ’उनले भने ।
उनले जयसवाल परिवारका कुल देवता सहस्रबाहु कार्तवीर्य अर्जुनको शालिक निर्माण गरिने प्रतिवद्धता जनाउँदै त्यसका लागि जग्गाको खोजीमा लाग्न रुपन्देही, कपिलवस्तु र नवलपरासीको जयसवाल सेवा समितिका अध्यक्षहरुलाई आग्रह गरे ।
त्यस्तै जयसवाल सेवा समितिका पूर्वअध्यक्ष तथा सल्लाहकार महेश जयसवालले कुल देवता सहस्रबाहु कार्तवीर्य अर्जुनको शालिक निर्माणका लागि व्यक्तिगततर्फबाट रु. २ लाख ५१ हजार सहयोगको घोषणा गरे ।
तौलिहवा उद्योग वाणिज्य संघका महासचिव देवेश जयसवालले सहस्रबाहु कार्तवीर्य अर्जुनको शालिक वा उहाँको नाममा पार्क बनाउनुपर्ने बताए । उनले आर्थिक संकटका कारण उद्योगी–व्यवसायी मारमा परेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य विशाल जयसवालले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
जयसवाल युवा सेवा समिति सिद्धार्थनगरका अध्यक्ष शिवम जयसवालले सबैले मिलेर जयसवाल समाजलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । व्यापार मण्डल सोनौली (भारत) का अध्यक्ष सुवास जयसवालले जयसवाल समाजलाई अगाडि बढाउँदै विपन्नलाई सहयोग गर्नुपर्ने धारणा राखे । आनन्दनगर जयसवाल समाजका अध्यक्ष अशोक जयसवालले समाज संगठित हुनुपर्नेमा जोड दिए ।
जयसवाल महिला समिति सिद्धार्थनगरकी अध्यक्ष पुनम जयसवालले होली मेलमिलापको पर्व भएको र जयसवाल समाजलाई अझ अगाडि बढाउन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइन । नौतनवा जयसवाल मण्डल सदस्य तथा व्यवसायी सुधाकर जयसवालले युवाहरुको शिक्षा र व्यक्तित्व विकासमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष भैरव कलवार, पीपीगंज जयसवाल सेवा समितिका अध्यक्ष बब्लु जयसवाल, जयसवाल सेवा समिति सिद्धार्थनगर, रुपन्देहीका सचिव संजय जयसवाल लगायतले भनाइ राखेका थिए ।
जयसवाल सेवा समिति सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष अमित कुमार गुप्ताको अध्यक्षता, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार (सन्तु) को प्रमुख आतिथ्यता, समितिका उपाध्यक्ष अविनाश जयसवालको स्वागत तथा महासचिव अर्जुन प्रसाद जयसवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशन (निर्वाचन) बाट कार्यसमिति सदस्यमा निर्वाचित विशाल जयसवाललाई सम्मान गरिएको थियो । उनी संघको कार्यकालमा दोस्रोपटक सदस्यमा निर्वाचित भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij