२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘मदिरा व्यवसायी संघ भैरहवा सामाजिक कार्यमा अग्रसर’

शुक्रवार , फाल्गुण ३०, २०८१


भैरहवा, १ चैत । मदिरा व्यवसायी संघले भैरहवा, रुपन्देही व्यवसायीको हकहितसँगै सामाजिक कार्यमा अग्रसर भएको व्यवसायीहरुले बताएका छन् । उनीहरुले संघले स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आएको बताएका हुन् । मदिरा व्यवसायी संघ भैरहवाले बिहीबार आयोजना गरेको होली मिलन कार्यक्रममा व्यवसायीहरुले यस्तो बताएका हुन् ।

समारोहमा संघका अध्यक्ष बाबुराम पाण्डेले २०७७ सालमा स्थापना भएको मदिरा व्यवसायी संघ भैरहवाले व्यवसायीको हकहितसँगै सामाजिक कार्य गर्दै आएको बताए । ‘वार्षिक कार्ययोजना अन्तर्गत होली मिलन कार्यक्रम आयोजना गरिएको हो । व्यवसायीको हकहितका लागि आवाज उठाउँछौं’उनले भने–‘हामी गलत कुराको समर्थन गर्दैनौं ।’

संघका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले मदिरा व्यवसायीले समयमै पसल बन्द गर्दै आएको बताए । उनले प्रहरी–प्रशासनसँग सहकार्य गर्दै अगाडि बढेको बताए । ‘मदिरा व्यवसायलाई अन्य व्यवसाय जस्तै हेर्नुपर्छ । यो व्यवसायलाई फरक र नकारात्मक दृष्टिकोणले हेर्नुहुँदैन, ’उनले भने । चाडपर्वमा मदिरा निषेध गर्न नहुने उनले बताए । संघले रक्तदान, वृक्षरोपण, राहत वितरण लगायत विभिन्न सामाजिक कार्य गर्दै आएको उनको भनाइ छ ।

संघका सल्लाहकार खिम बहादुर खत्रीले संघले विभिन्न चाडपर्वमा कार्यक्रमहरुसँगै सामाजिक कार्य गर्दै आएको बताए । 

वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक नेत्र बुढाले होली पर्वमा चाडपर्व लक्षित सुरक्षा योजना बनेको बताए । उनले मदिरा सेवन गरेर हुने विभिन्न घटनाले समाजमा असर पर्न सक्नेतर्फ सजग हुनुपर्ने बताए। उनले कार्यक्रमले व्यवसायी र प्रहरीबीच छलफल हुने अवसर जुटेको बताए । 

मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षता, वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक नेत्र बुढाको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक एवं संघका कार्यसमिति सदस्य गंगाराम पराजुलीको स्वागत तथा संघका कोषाध्यक्ष सुन्दर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_8658.JPG