
शुक्रवार , फाल्गुण ३०, २०८१
भैरहवा, १ चैत । ईलाका प्रहरी कार्यालय धकधई, रुपन्देहीले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार रोहिणी–३ स्थित धकधईमा उक्त कार्यक्रम गरिएको हो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनता र प्रहरीबीचको सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने, विगतमा भएका कार्यहरु समीक्षा गर्दै अझै प्रभावकारी ढंगले सेवा प्रवाह गर्ने उद्देश्यले कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादवले बताए ।
कार्यक्रममा सहभागीहरुले प्रहरीले कसैको दबाब र प्रभावमा काम गर्न नहुने, तस्करी रोक्न अझ प्रभावकारी कदम चाल्नुपर्ने, भारतबाट मल ल्याउँदा किसानलाई दुःख दिन नहुने, सवारीसाधन तीव्र गतिमा चलाउनेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने लगायत सुझाव राखेका थिए ।
कार्यक्रममा रोहिणी–२ का सई मोहम्मद खाँले अपराध नियन्त्रण प्रहरीको मुख्य जिम्मेवारी भएको बताए । उनले खुल्ला सीमाका कारण चुनौती रहेको बताए । ‘नेपालमा मल, बिउबिजन समयमा पाइँदैन, भारतबाट ल्याउनुपर्ने बाध्यता छ, मल तथा बिउबिजन ल्याउँदा जनतालाई दुःख दिइनुहुँदैन, ’उनले भने ।
रोहिणी–२ का निजामुद्दीन पठानले प्रहरी मेरो साथी भन्ने कुरा जनताले व्यवहारमै महसुस गर्न पाउनुपर्ने बताए । विगतमा उठान भएका समस्याहरुको समाधान भए कि भएनन् भन्नेबारे समीक्षा आवश्यक रहेको बताए।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रोहिणी गाउँपालिका इञ्चार्ज संजय कुमार गुप्ताले भारतीय पर्यटकलाई धेरै ठाउँमा चेकजाँच गरेर दुःख दिन नहुने बताए । उनले पछिल्लो समय रोहिणी–४ स्थित छिपागढ क्षेत्रमा सवारी दुर्घटना बढेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही जिल्ला सदस्य चन्द्र कुमार सिंहले रोहिणी गाउँपालिका अध्यक्षको घरमा पार्किङमा राखिएको गाडी तोडफोडमा संलग्न व्यक्तिहरुलाई छिटो भन्दा छिटो कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।
छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र कुमार यादवले विद्यालय आसपास ध्वनि प्रदूषण हुने गरी ठूलो आवाज आउने मोटरसाइकल गुडाउने कार्य भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।
रोहिणी–२ का विनय कुमार यादवले प्रहरीले सबैलाई नम्र व्यवहार गर्नुपर्ने बताए । ‘सरकारले किसानलाई समयमै मल, खाद दिन सकेको छैन । नेपाली किसान यसका लागि भारत जानुपर्छ । प्रहरीले किसानको मर्म बुझ्नुपर्छ, ’उनले भने ।
स्थानीय निसार अहमद खाँले प्रहरी संगठनप्रति विश्वास कायम रहने गरी अन्यायमा परेका व्यक्तिहरुलाई प्रहरीले साथ दिनुपर्ने बताए । श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक अब्दुल रसिद खाँले भैरहवा–परासी सडकखण्डमा सवारी दुर्घटना बढेको बताए । उनले तीव्र गतिमा सवारीसाधन चलाउनेलाई कारवाही गर्नुपर्ने बताए ।
पोखरभिण्डी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कान्छा कोहारले गलत नगर्नेहरु प्रहरीसँग डराउन नहुने बताए । उनले यो कुरा सर्वसाधारणलाई बुझाउनुपर्ने बताए । धकधई सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश यादवले सीमामा बस्ने जनता सीमाको रक्षक भएको बताए ।
रोहिणी गाउँपालिकाका पूर्व प्रवक्ता तथा वडा नम्बर २ का पूर्व वडाअध्यक्ष सरोज कुमार पाण्डेयले नेता भन्दा ठूलो जनता भएको र जनतालाई दुःख दिन नहुने बताए । जनमत पार्टीका नेता विजय यादवले तीव्र गतिमा सवारीसाधन चलाउँदा दुर्घटना बढेको बताए । ‘बिहानबिहान अवैध सामान बोकेका मोटरसाइकल तीव्र गतिमा गुड्छन्, सवारी दुर्घटनाको यो पनि एउटा कारण हो, ’उनले भने ।
स्थानीय रामनरेश कोहारले सुरक्षा र घटनाको दोषी पत्ता लगाउन सिसिटिभी क्यामेरा धेरै ठाउँमा राख्नुपर्ने बताए । उनले स्रोतसाधन बिना प्रहरी घटनास्थलमा तत्काल पुग्न नसक्ने भएकाले प्रहरी कार्यालय रहेका सम्बन्धित पालिकाहरुले आवश्यक सहयोग गर्नुपर्ने बताए । समाजसेवी सतिशचन्द्र मिश्राले प्रहरीले राष्ट्रसेवकको रुपमा सम्पूर्ण जनताको सेवा इमान्दारीपूर्वक गर्नुपर्ने बताए ।
कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, निवर्तमान अध्यक्ष सनोज कुमार यादव, रोहिणी–२ का अध्यक्ष करम हुसेन खाँ, नेपाली काँग्रेसका नेता पारसनाथ योगी लगायतले बोलेका थिए ।
ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादवको अध्यक्षता, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, निवर्तमान अध्यक्ष सनोज कुमार यादवको विशिष्ट आतिथ्यता तथा प्रहरी चौकी मैनिहवाका प्रमुख प्रहरी नायब निरीक्षक कृष्ण भाटको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij