२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पाँचसय जना श्रामणेरलाई प्रमाणपत्र प्रदान गर्दै प्रबज्या कार्यक्रम सम्पन्न

शुक्रवार , फाल्गुण ३०, २०८१

लुम्बिनी, १ चैत । बुद्ध जन्मस्थल लुम्बिनीमा भिक्षु प्रबज्या कार्यक्रम सम्पन्न भएको छ । मायादेवी मन्दिर परिसरमा पाँचसय जनालाई बौद्ध धर्मगुरुहरुबाट चीवर दान गरी सुुरु भएको क्लपुत्र प्रबज्या ५ सय नवश्रामणेरलाई प्रमाणपत्र प्रदान गर्दै सम्पन्न गरिएको हो । थाईल्याण्डको धम्मकाय फाउण्डेशनको सहयोगमा अल्पकालीन क्लपुत्र प्रबज्या कार्यक्रम अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहितको सहआयोजनामा सम्पन्न भएको हो ।

प्रबज्या समापन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले भिक्षु प्रबज्या कार्यक्रमले बौद्ध संस्कृतिको संरक्षण र संवद्र्धन गर्न मात्र नभइ विश्वलाई शान्ति र अहिंसाको सन्देश दिन सहयोग पुगेको बताए ।उनले नयाँ भिक्षुहरुलाई धार्मिक र आध्यात्मिक शिक्षा दिनका साथै समाजमा सहिष्णुता र समानताको मूल्य स्थापित गर्न र विशेष गरी युवा पुस्तालाई प्रोत्साहित गर्न भिक्षु प्रबज्या कार्यक्रम महत्वपूर्ण रहेको बताए ।  

भगवान गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताउँदै शान्तिका लागि बुद्धको सन्देश विश्वभर लैजान विश्व समुुदायलाई आग्रह समेत गरे । यसअघि लुम्बिनी परिसरमा भिक्षाटन र लुम्बिनीमा ७ हजार दीप प्रज्वलन, देवदह, बुटवल र रामग्रामदेखि लुम्बिनी धम्मयात्रा सम्पन्न भएको छ भने शनिबार बेलुुकी भैरहवामा धम्मयात्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । 

व्यवहारिक, वैज्ञानिक ज्ञान, ध्यान र मैत्री, करुणा बढाउने साधना सिकाउने प्रबज्यामा भिक्षु बन्न इच्छुक व्यक्तिहरु निःशुल्क सहभागी भएका थिए । सन् २०११ मा १ हजार जना, २०१५ मा १ हजार १ सय १२ जना, सन् २०१९ मा १ हजार १ सय १९ जना, सन् २०२३ मा ५ सय र सन् २०२४ मा १ हजार २ सय ५० जनालाई प्रव्रज्या गराइएको थियो भने यसवर्ष ५ सय जनालाई प्रव्रज्या गरिएको छ ।