
शनिवार , चैत्र १, २०८१
बुटवल, २ चैत । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेकोे कालिका मानवज्ञान माध्यमिक विद्यालयको कानून संकायमा अध्ययनरत विद्यार्थीले ‘कालिका संसद’ को अभ्यास गरेका छन् । शनिबार कानुन विद्यार्थी समाज कालिकाको आयोजनामा नमुना संसद अभ्यास गरिएको हो ।
समाजका अध्यक्ष सन्जोग न्यौपानेको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा, विद्यालयका शैक्षिक सल्लाहकार तथा पूर्व प्रधानाध्यापक, बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, बुटवल कालिका क्याम्पसका अध्यक्ष तथा कालिका मानवज्ञान माविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष होम ज्ञवालीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकोे थियो ।
कार्यक्रममा विद्यालयका सह प्रध्यानाध्यापक पिताम्बर बन्जाडे, व्यवस्थापन ईन्चार्ज शेरचन्द गिरी कानून तथा माविकी संकाय ईन्चार्ज विमल आत्रेयसहित कानून संकाय संयोजक युवराज कंडेलको आतिथ्यता सरेको थियो ।
विद्यालयका शिक्षक अधिवक्ता दामोदर घिमिरेको संयोजकत्वमा भएको कार्यक्रममा विद्यार्थीहरुले नमूना अभ्यास अन्र्तगत प्रधानमन्त्रीको चयन, संसदमा विधेयक दर्तादेखि लिएर संसदको शुन्य र विशेष समयमा समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले पछिल्लो समय कानून विषय सबैको लागि अनिवार्य आवश्यकता जस्तै भएको बताए । उनले कानून व्यवहारिक विषय समेत भएकोले विद्यार्थीहरुले गरेको नमूना अभ्यास आफैमा गौरवपूर्ण भएको बताए ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बोल्दै व्यवहारिक अभ्याससँगै कालिका मानवज्ञान मावि अगाडी बढिरहेको बताए । उनले सबैको साझा प्रयासबाट विद्यालयको नतिजा सुधारदेखि लिएर सबै क्षेत्रमा कायापलट गर्न सकिने धारणा राखेक ।
विद्यालयका पूर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले विद्यार्थीहरुको अभ्यास कला विकासको लागि यी र यस्ता प्रकृतिका कार्यक्रम आवश्यक रहेको बताएका थिए । उनले कानून विषय आफैमा व्यवहारिक रहेको भन्दै यसको महत्व पछिल्लो समय अझ बढ्दै गएको बताए ।
कार्यक्रममा राष्ट्रपतिको भुमिका दिया आचार्य, सभामुखको भूमिका काजल पाण्डे, प्रधानमन्त्रीको भूमिका विवस पाण्डे, प्रदेश सभा सचिवको भूमिका सदिक्षा भट्टराई र उपसचिवको भूमिका विन्दु पौडेलले निर्वाह गरेका थिए ।
विद्यार्थीहरुले शुन्य समयमा विविध समस्याको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । विशेष समयमा समेत समसामयिक विषयमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij