
शनिवार , चैत्र १, २०८१
भैरहवा, २ चैत । बुद्ध जन्मस्थल लुम्बिनीमा श्रामणेर (अल्पकालीन) भिक्षु भएकाहरुले शनिबार भैरहवामा बुद्धको अस्तिधातुसहितको धम्मयात्रा गरेका छन् । लुम्बिनीस्थित मायादेवी मन्दिरमा फागुन २० गते पहेलो चिवर ग्रहण गरी बुद्ध शिक्षाबाट प्रवजित भएका पाँचसय जना अल्पकालीन भिक्षुहरुले भैरहवामा धम्मयात्रा गरेका हुन् ।
धम्मकाय फाउण्डेशन, थाई भिक्षु महासंघ, लुम्बिनी विकास कोष तथा बौद्ध समाज नेपालको आयोजनामा स्थानीयहरुको सहभागीतामा लुम्बिनी प्रवेशद्वारमा धम्मयात्राको टोलीलाई स्वागत गरिएको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालादेखि लुम्बिनीगेटसम्म पैदल आएका भिक्षु तथा अल्पकालिन भिक्षुहरुलाई लुम्बिनीगेटमा पुष्पअर्पण गरी स्वागत गरिएको थियो । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि भैरहवा हुँदै गृहनगर कपिलवस्तु गएको स्मरण गर्दै बुद्धको उपदेश विश्वभर फैलाउन गत वर्षदेखि भैरहवामा धम्मयात्राको थालनी गरिएको आयोजकले जनाएका छन् ।
धम्मयात्रा कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्राचार्यले भगवान बुद्धले प्राप्त गरेपछि सिद्धार्थनगर (भैरहवा) हुँदै लुम्बिनी, कपिलवस्तु आएको बताउँदै बुद्ध धर्मको संघ पनि यसै क्षेत्रका मानिसहरुको सहभागीताबाट सुरु भएको बताए । उनले बुद्धका उपदेशहरु मानव कल्याण, शान्ति र सदभावको प्रतिक भएको बताउँदै श्रामणेर भएकाहरुको धम्मयात्राले बुद्धका सन्देशलाई फैलाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बुद्धले राजपरिवारको सुखसयल त्यागेर बुद्धत्व प्राप्त गरेको स्मरण गर्दै धम्मयात्राले त्यही सन्देश दिएको बताए । उनले भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्नो भूमि फर्कदा रुपन्देहीको सिद्धार्थनगर हुँदै फर्केको इतिहासलाई धम्मयात्राले फेरी स्मरण गराएको बताए ।
त्यस्तै लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य श्याम रोक्काले धम्मयात्राले लुम्बिनी भगवान बुद्धको जन्मस्थल मात्रै नभइ विश्व शान्तिको उदगम थलो भएको सन्देश दिने काम गरेको बताए । उनले लुम्बिनीलाई मन्त्र, ध्यानमा मात्रै सीमित नराखी बुद्धका उपदेश, लुम्बिनीको महत्वलाई विश्व समुदायमाझ पुर्याउन लाग्नुपर्नेमा जोड दिए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले बुद्धत्व प्राप्त गरेपछि रुपन्देहीको सिद्धार्थनगर हुँदै गृहनगर कपिलवस्तु फर्केको बताउँदै त्यसलाई सम्झँदै धम्मयात्रा गरिनु आफैमा महत्वपूर्ण रहेको बताए । उनले आगामी दिनमा समेत धम्मयात्रालाई अझ ठूलो संख्यामा गर्नका लागि स्थानीय सरकारको तर्फबाट सहयोग हुने बताए ।
धम्मयात्रामा धम्कायका सल्लाहकार डा. आदिसक, थाईल्याण्ड तथा नेपालका भिक्षु, भिक्षुणी, लामा, उपासक उपासिकाहरुको सहभागीता थियो । भैरहवामा दोस्रोपटक गरिएको धम्मयात्राले बुद्धका उपदेशहरुलाई फैलाउन र विश्व शान्तिका लागि बुद्ध नगरी लुम्बिनीबाट सकरात्मक सन्देश दिन सफल भएको बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहाले बताए । धम्मयात्रा कार्यक्रमको सञ्चालन लुम्बिनी बौद्ध विश्वविद्यालयका सह–प्रध्यापक कमल थापाले गरेका थिए ।
धम्मयात्रामा सहभागी अल्पकालीन भिक्षुहरुले पहेंलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ । बुद्धका सामान्य अनुयायीहरुले पञ्चशील र अष्टशीलको पालना गर्ने भएपनि अल्पकालीन भिक्षुले फागुन १६ गतेदेखि कपाल मुण्डन गरी आफूलाई पूर्ण रुपमा बौद्ध नियममा रुपान्तरण गरेका थिए । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ ।
तस्विरहरु : रबिन्द्र प्रताप गुप्ता/खबरपात्रो
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij