२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

डीपी अर्यालको दावी : रास्वपामा कुनै गुट छैन

शनिवार , चैत्र १, २०८१

रुपन्देही, २ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति  डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीभित्र कुनै गुट नभएको दावी गरेका छन् । रास्वपाको केन्द्रदेखि वडासम्म एउटै गुट भएको जिकिर गर्दै उनले अझै २० वर्षसम्म पनि पार्टीमा यो गुट, त्यो गुट भन्ने नहुने बताए ।

शनिबार रुपन्देहीको देवदह नगरपालिका–७ को पार्टी कार्यालय उद्घाटन गर्दै कार्यबाहक सभापति अर्यालले पार्टी अझै पनि रवि लामिछानेको नेतृत्वमा रहेको स्पष्ट पारे । उनले रविलाई ठुला दलहरूले प्रतिसोध राखेर फसाउन खोजेको भन्दै उहाँको ठाउँमा आफूले केही समय कार्यबाहक अध्यक्ष रूपमा पार्टी सम्हालेको जिकिर गरे । उनले भने, ‘हाम्रो पार्टीमा कुनै गुट–उपगुट छैन । पार्टी केवल रवि लामिछाने गुट हो । उहाँले जुन अभियान लिएर हिंड्नुभयो, त्यसमा हामी सबै एकताबद्ध छौं ।’ 

उनले पार्टी सभापति अप्ठ्यारोमा परेको बेला पार्टीलाई जोगाउन सबैलाई एकढिक्का राख्ने जिम्मेवारीमा आएको बताए । उनले रविले जनता समस्याहरू उठाउन थालेपछि एकपछि अर्को उचाइ लिएको ठुला दलहरू मन नपरेका कारणले सहकारी मुद्दामा डुलाएको आरोप लगाए । उनले रविलाई जति डुलाए पनि केही फरक नपर्ने बताए ।  

पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत रहेका अर्यालले युवाहरूलाई विदेश जान बाध्य पार्ने पनि यिनै ठूला भनिएका दलहरू भएको आरोप लगाए । उनले विकास निर्माण सुस्त भएको तथा जनताको समस्याहरू समाधान गर्नेतर्फ दलहरू ध्यान नदिएको उल्लेख गर्दै जनतामा चरम निराश हुने काम सरकारले गरेको बताए । उनले बुटवल–नारायणगढ सडक २ वर्ष बन्नुपर्नेमा ८–१० वर्षसम्म ढिलाइ गर्दा त्यसले जनतालाई परेको असरको क्षतिपूर्ति कसले दिने भन्दै प्रश्न गरे । 

उनले दलहरू आफैमा खराब नभए पनि दलको नेतृत्व गर्नेहरूको गलत कामले गर्दा मुलुक अगाडी बढ्न नसकेको बताए । अर्यालले रास्वपाले अब जनताको एजेण्डालाई साथ लिएर केन्द्रदेखि वडासम्म काम गर्ने प्रतिवद्धता व्यक्त गरे । रास्वपा आगामी निर्वाचनमा एउटा ठुलो शक्ति भएर आउने उनले जिकिर गरे ।

कार्यक्रममा रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले पछिल्लो समयमा जनातामा देखिएको निराशालाई चिर्नका लागि रास्वपाको उदय भएको उल्लेख गरे । उनले नागरिकको भरोसाको पार्टीका रुपमा रास्वपाले काम गर्ने आश्वासन दिए । उजले नेपालका पुराना र ठुला भनिएका पार्टीहरुले निराशा मात्र दिएको र नयाँ धार तथा युवाहरुको जमातले बनेको रास्वपाको उदयले ठुला दलहरु त्रसित भएको दावी गरे ।

देवदह नगर सभापति मेघनाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय विभाग सदस्य गणेश पौडेल, प्रदेश उपसभापति शालिकराम घिमिरे, प्रदेश सल्लाहकार विनोद खरेल, मित्रबहादुर कुवँर, जिल्ला सदस्य विष्णु प्रसाद पौडेल, नवप्रवेशी धर्मराज पौडेल, भिमलाल काफ्लेलगायतले पार्टीलाई अझ बलियो बनाउन सबैले आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्ने बताए ।

यसैबीच शनिबार नै भएको रास्वपा देवदह नगरपालिका वडा नम्बर ७ को अधिवेशनले मणिप्रसाद काफ्लेको अध्यक्षतामा ९ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपसभापतिमा कर्णबहादुर पुन मगर, सचिवमा अर्जुन उपाध्याय तथा सदस्यहरुमा मन्जु भुसाल, हिमलाल न्यौपाने, प्रेम क्षेत्री, राज ठाकुर, पुर्वबहादुर दर्जी र धुर्वप्रसाद शर्मा रहनुभएको जिल्ला सचिव विष्णु प्रसाद पौडेलले जानकारी दिए । सोही अवसरमा पार्टीका कार्यबाहक सभापति डीपी अर्यालले विभिन्न पार्टी परित्याग गरि रास्वपामा प्रवेश गरेका एक सयबढी नयाँ सदस्यहरुलाई स्वागत समेत गर्नुभएको जिल्ला सचिव पौडेलले बताए ।