२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन सुविधा दिने सरकारी तयारीप्रति काँग्रेसको असन्तुष्टि

आइतवार , चैत्र २, २०८१

काठमाण्डाैं । पूर्वविशिष्ट पदाधिकारीहरूलाई कानुन बनाएर आजीवन सुविधा दिने सरकारी तयारीप्रति सत्तारुढ नेपाली काँग्रेसका सांसदहरुले आपत्ती जनाएका छन् । 

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीहरूलाई कानुन बनाएर आजीवन सुविधा दिने सरकारी तयारीप्रति असन्तुष्टि जनाएका छन् ।

उनले मुलुक आर्थिक रूपमा कमजोर भएको अवस्थाका पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन कानुन बनाइरहेको समाचारहरू आएको भन्दै यस्तो गर्न नहुने बताए । उनले भ्रष्टाचार नियन्त्रण गर्न नसकिएको, युवाहरू रोजगारीका लागि विदेश जान बाध्य भएको तथा जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थामा रहेको भन्दै सरकार जनताकाे काममा केन्द्रित हुन जरुरी रहेको बताए । 

उनले भने, ‘अहिले देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको छ । विकास निर्माण र सार्वजनिक सेवा प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेको अवस्थामा सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा दिने कानुन बनाउन लागेको समाचार बाहिर आएको छ । कानुनको मस्यौदा बनिरहेको भनेर बाहिर आएको छ । जबकि मुलुकको आर्थिक अवस्था कमजोर अवस्थामा छ । भ्रष्टाचार नियन्त्रण हुन सकिरहेको छैन । युवाहरू रोजगारीका लागि विदेश जान बाध्य छन् । जनताले उपचार नपाएर ज्यान गुमाउने अवस्था पनि देखा परिरहेको छ । राज्यप्रति जनता उदासिन भइरहेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई विपल बनाउन प्रतिगामीहरू सडकमा नारा जुलुस समेत गरिरहेको अवस्था छ । यस्तो अवस्थामा पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन देशको हितमा छैन ।’

उनले देश आर्थिक रूपमा सङ्कटग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा पूर्व विशिष्टहरूलाई आजीवन सुविधा दिने कुरा देशको हितमा नहुने धारणा राखे ।