
आइतवार , चैत्र २, २०८१
बुटवल, ३ चैत । जिल्ला अधिवेशनका लागि नेकपा (एकीकृत समाजवादी) रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि छनौट भएको छ । पार्टी विधान अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार बनाएर शनिबार र आइतबार गरी सर्वसम्मत प्रतिनिधि छनौट गरिएको हो ।
यही चैत ९ र १० गते हुने निर्वाचनका लागि रुपन्देहीका प्रतिनिधि सभाका ५ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गरिएको हो ।
यसपटक प्रतिनिधि नभएकाहरु जिल्लाको अधिवेशनमा सहभागी हुन नपाउने व्यवस्था समेत गरेको नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज नन्दलाल बन्जाडेले बताए । यसअघि जिल्लाका पदाधिकारी तथा सदस्यहरु स्वत प्रतिनिधि हुने प्रावधान रहँदै आएकोमा रुपन्देहीमा प्रतिनिधि अनिवार्य हुने व्यवस्था गरिएको हो ।
जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा समावेशीताका आधारमा महिला, दलित, तथा खुल्ला क्षेत्रबाट प्रतिनिधि सर्वसम्मत भएको जिल्ला उपसचिव टंक पोख्रेलले जानकारी दिए । उनका अनुसार प्रतिनिधि छनौट भएसँगै अब अधिवेशनको अन्य तयारीका कामहरु सुरु भएको छ ।
शनिबार चारवटा निर्वाचन क्षेत्र र आइतबार ५ नम्बरको गरी ५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनौट भइ जिल्लामा प्रतिनिधिहरुको नाम आएको अर्का उपसचिव मिरा श्रेष्ठले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij