
सोमवार , चैत्र ३, २०८१
नवलपरासी। एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासीकी तिलमाया सार्कीको शव नेपाल ल्याइने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की सार्कीको शव आज नेपाल ल्याइने भएको हो । गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो ।
रोजगारीका लागि मलेसिया गएकी २५ वर्षीय तिलमायाको हत्या भएपछि परिवारले शव समेत पाएको थिएन भने राहत रकमका लागि कागजात पूरा गर्न पनि सकेको थिएन । श्रीमान्सँग सम्बन्धविच्छेद गरेर छ वर्षीय छोरीलाई आमाको जिम्मा लगाएर मलेसिया गएकी तिलमायाको पाकिस्तानी नागरिकले हत्या गरेका थिए ।
छोरी तिलमायाको हत्या भएको खबर पाएदेखि नै शव नेपाल ल्याउनका लागि ७० वर्षीय आमा धनमाया सार्की विभिन्न निकाय धाएकी थिइन । तर पनि हत्याको अनुसन्धान नसकिएको भन्दै मलेसियाबाट शव नेपाल पठाउन आनाकानी गरिएको थियो ।
शव ल्याउन ढिलाइ हुँदा परिवारले पाएको दुःखबारे विभिन्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन भएपछि यस विषयले प्राथमिकता पाएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले बताए ।
“लामो प्रयासपछि शव नेपाल ल्याउन लागिएको छ । तिलमायाको शव बोकेको विमान सोमबार दिनको साढे १२ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गर्ने जानकारी पाएका छौँ”, उनले भने, “शव बुझ्नका लागि तिलमायाकी दिदी नीलमाया सार्की आइतबार काठमाडौँ जानुभएको छ ।”
मलेसियादेखि काठमाडौँ शव ल्याउँदाको खर्च मलेसियन कम्पनीले नै व्यहोर्ने भएको छ । शव आज साँझसम्ममा तिलमायाको माइतीघर नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–४ हसौरामा आइपुग्ने लम्सालले जनकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij