२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

झापाका विद्यार्थीको भाषण भाइरल, हिट्लरसँग तुलना

सोमवार , चैत्र ३, २०८१

भैरहवा । झापाका एकजना विद्यार्थीले विद्यालयको वार्षिकोत्सव कार्यक्रममा दिएको भाषण इन्टरनेटमा भाइरल भएको छ। धुलाबारीको होलिबेल स्कुलको २४औं वार्षिकोत्सवका अवसरमा २८ फागुनमा कक्षा १० मा पढ्ने १६ वर्षीय विद्यार्थी आविष्कार राउतले दिएको मन्तव्य भाइरल भएको हो।  

उनले गरेको भाषलाई लिएर धेरैले उनलाई जर्मन नेता एडोल्फ हिटलरसँग तुलना गरेका छन्। ‘आज म यहाँ एक नयाँ नेपाल बनाउने सपना लिएर उभिएको छु। आशा र उत्साहको आगो मेरो भित्र जलिरहेको छ, तर मेरो मन भारी छ किनकि यो सपना हातबाट फिस्लिरहेको जस्तो लाग्छ,’–उनले भनेका यस्ता धेरै कुरा सामाजिक सञ्जालमा भाइरल भएको थियो। सामाजिक सञ्जालमा भाइरल भएपछि उनीबारेका धेरै समाचारहरु विदेशी सञ्चारमाध्यमहरुले समेत लेखेका छन्।

‘मैले आफूलाई यहाँ तपाईंहरूको अगाडि प्रस्तुत गरेको छु ताकि म तपाईंहरूको चेतनामा उज्यालो ल्याउन सकूँ र माथि जो अन्धकारको बादल चुलिएको छ, त्यसलाई चिर्न सकूँ। म आज यहाँ इतिहासको मोडमा एक विशाल परिवर्तन अमर बनाउन आएको छु,’ उनले थपे। 

विद्यार्थीले भनिरहे, ‘नेपाल, हाम्रो आमा, त्यो देश जसले हामीलाई जन्म दियो र पालन पोषण गर्यो - उसले के माग्यो यसको बदलामा? केवल हाम्रो इमानदारी, हाम्रो मेहनत, हाम्रो योगदान। तर हामी के गर्दैछौं ?’

‘हामी बेरोजगारीको शृङ्खलामा बाँधिएका छौं, हामी राजनीतिक दलहरूको स्वार्थी खेलमा फसेका छौं। भ्रष्टाचारले जाल बुनेको छ जसले हाम्रो भविष्यको उज्यालो मेटिरहेको छ, उनले भने।

‘हाम्रा पितापुर्खाले यो देश बचाउनलाई रगत दिएका छन्, हामी यसलाई गुमाउन सक्दैनौं, हामी निराशालाई जलाउने छौं’, उनले अगाडि भनेका छन्, ‘अब हामी अन्धकारमै रही रहने कि आशाको किरण बन्ने भन्ने निर्णय गर्नुछ ।’

यो २ मिनेट १९ सेकेन्डको भिडियोे झापाका सञ्चारकर्मी विजय बरालले खिचेका थिए। बरालले सुरुमा राउतले मन्तव्य दिएको भाषण ‘विन्जु मिडिया कर्नर’ नामक आफ्नो पेजमा अपलोड गरेका थिए। उक्त पेजमा राखिएको भिडियो यो समाचार तयार गर्दासम्म ८ लाखभन्दा बढीले हेरिसकेका छन्। उनकै पेजबाट डाउनलोड गरेर धेरै फेसबुक पेजहरु र एक्समा पनि सेयर भएका छन्। यसका छोटा छोटा क्लिपहरु रिल्स र टिकटकमा समेत भाइरल भइरहेका छन्।

‘मलाई पहिल्यैदेखि वक्तृत्वकलामा रुचि थियो, म भाग लिइरहेको हुन्थे’,–उनी भन्छन्,–‘यसपटक पनि सरले केही प्रस्तुति दिनु भनेकाले मैले अघिल्लो दिन बेलुकी यो स्पिच तयार गरेको थिएँ।’

उनले यसरी दिएको भाषणलाई भारतीय सञ्चारमाध्यमहरूले समेत हिटलरसँग तुलना गर्दै प्राथमिकताका साथ समाचार लेखेका छन्। भारतको आर्थिक अखबार ‘द इकोनमिक टाइम्स’ले नेपाली विद्यार्थीले स्कुलमा राखेको मन्तव्यको भिडियो भाइरल भएको भन्दै लेखेको छ। त्यसमा उनको भाषणलाई धेरैले जर्मनका क्रुर शासक एडल्फ हिटलसँग तुलना गरेको उल्लेख गरिएको छ।

भारतको द इन्डियन एक्सप्रेसले पनि विद्यार्थीले बेरोजगारी र भ्रष्टाचारबारे दिएको मन्तव्य हिटलरसँग तुलना गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सेयर गरिरहेको उल्लेख गरेको छ।  

भारतको टेलिभिजन च्यानल एनडीटीभीले नेपालको राजनीतिक र आर्थिक चुनौतिलाई सम्बोधन गर्दै विद्यार्थीले दिएको भाषण नेपालमा राजतन्त्रको पक्षमा आन्दोलन भइरहेका बेला भाइरल भएको उल्लेख गरेको छ।

भारतकै अर्को अखबार दैनिक जागरणले नेपाली विद्यार्थीको भाषणलाई किन हिटलरसँग तुलना भइरहेको छ भनेर भिडियोसहितको सामग्री प्रकाशन गरेको छ।