
मंगलवार , चैत्र ४, २०८१
भैरहवा, ५ चैत । रुपन्देहीको कोटहीमाई गाउँपालिका–४ स्थित कोटहीमाई मन्दिरमा श्री श्री विष्णु महायज्ञ सुरु भएको छ । कोटहीमाई मन्दिरबाट गाउँपालिका समेत नामाकरण गरिएको ऐतिहासिक धार्मिकस्थलमा प्रसिद्ध उक्त स्थानमा विगत ९ वर्षदेखि हुँदै आएको महायज्ञ यस वर्ष सोमबारदेखि सुरु भएको हो ।
सोमबार मन्दिर परिसरदेखि कोटहीमाई गाउँपालिका–५ दानव र तिनाउ नदीको संगमस्थल दुईमोहानमा जल भर्न रथसहित कलश यात्रा निकाली यज्ञ शुभारम्भ भएको हो । सामाजिक सदभाव तथा धार्मिक संरक्षणका लागि हरेक वर्ष जनस्तरबाट उक्त यज्ञ हुँदै आएको कोटहीमाई वडा नम्बर ४ का वडाध्यक्ष बेचुराम पालले बताए । यज्ञमा दैनिक दिउँसो तथा रातीमा भारतको बिन्द्रावनबाट आएका साँस्कृतिक कार्यक्रमको प्रस्तुति हुने वडाध्यक्ष पालले बताए ।
उनले भने–‘कोटहीमाई मन्दिरको वरीपारी रहेका बैरघाट, जिगिनिहवा, तुनिहवा, बरहदवा, कदमहवा, हर्दी लगायत विभिन्न टोलबासीहरु प्रत्यक्ष तथा सनातनप्रति आस्था राख्ने अन्य क्षेत्रबासीहरुको सहयोगले यज्ञ भइरहेको छ ।’ चैत १२ गतेसम्म सञ्चालन हुने महायज्ञमा हुनै दैनिक कार्यक्रममा सहभागी हुन सबैलाई निमन्त्रणा गरेका छन् ।
९ दिनसम्म चल्ने महायज्ञमा दैनिक हुने साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले धार्मिक कार्यक्रमले धर्म संक्षरणसँगै सामाजिक सदभाव समेत बचाउने बताए । उनले धर्म ठूलो ज्ञान भएको र यसले जीवन जिउन सिकाउने बताए ।
पूजापाठसहित हरेक धार्मिक कार्यक्रममा हरेक सनातनी परिवार जुटनुपर्ने बताए । ९ दिनसम्म चल्ने महायज्ञ कार्यक्रम सबैको सकारात्मक सहयोगको अनुरोध गर्दै सभ्य र शान्त वातावरणमा बनाउन समाजको हरेक व्यक्तिको भूमिका रहने गुप्ताले बताए । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष तथा स्थानीय आर एण्ड एन व्रिक्सका सञ्चालक समेत रहेका गुप्ताले महायज्ञमा (पूजा कार्यक्रम) सञ्चालनका लागि २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij