
मंगलवार , चैत्र ४, २०८१
भैरहवा, ५ चैत । रुपन्देहीको सियारी गाउँपालिका–४ छपियास्थित लिलाधर घिमिरे जनता कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ । आज (मंगलबार) सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्वविु) को निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको हो ।
२ सय ३१ कुल मतदाता रहेको कलेजमा २ सय १६ मत खसेको थियो । जस अन्तरगत नेविसंघले १ सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत कमला भण्डारीले जानकारी दिइन् । भण्डारीका अनुसार नेविसंघका आशिस जयसवालले १ सय १७ मतसहित सभापतिमा निर्वाचित भएका छन् । त्यसै गरी सचिवमा विष्णु प्रसाद केवटले १ सय २२ मत प्राप्त गर्दै विजयी भएका छन् भने कोषाध्यक्षमा १ सय २५ मतसहित रिना यादव विजयी भएको निर्वाचन अधिकृत भण्डारीले बताइन् ।
त्यसै गरी सदस्यहरुमा रविन्द्र कोहार, सुरज यादव, गीता धोबी, सविता थारु र ओमप्रकाश नाउँ विजयी भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट सभापतिको उम्मेदवार बनेका जगदीश यादवले ९६, सचिवका उम्मेदवार पुष्पा यादवले ८८ र कोषाध्यक्षका उम्मेदवार सन्तोष कुम्हालले ८५ मत प्राप्त गरेकोे निर्वाचन अधिकृत भण्डारीले जानकारी दिइन् । उनले २ सय १६ मत खसेकोमा २ वटा मत बदर भएको बताइन् । रुपन्देहीमा भएका क्याम्पसहरुमा भएको निर्वाचनमध्ये लिलाधर घिमिरे छपिया जनता कलेजले सबैभन्दा पहिला नतिजा सार्वजनिक गरेको हो ।
नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र विप्लव निकट अखिल समाजवादी गरी ४ वटा संगठन दर्ता भएकोमा नेविसंघ र अनेरास्ववियु मात्रै चुनावमा प्रतिष्पर्धा गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij